कविता : म र मेरी आमा

भय र खुशी मिश्रित बाढी मनमा आउँदा

प्रसुती पीडा खपेर हाँस्यौ मलाई पाउँदा
सहनशील हे दिव्य नारी कोमल हृदयी

मायाकी खानी निश्वार्थी देवी विश्वकी प्रणयी

सृष्टिकी दात्री धर्तीकी खुशी छुन्छु म चरण

हे मेरी आमा सदैव देऊ काखमा शरण

त्रिलोकभरि अतुल्य हुन्छ आमाको भरण

 

हे मेरी आमा नजाऊ टाढा मलाई छोडेर

लैजाऊ बरू मलाई पनि बुईमा बोकेर

याचना सुनी म बबुराकोे पग्लिन् मातरी

छातीमा टाँसी मलाई चुम्दै हाँसिन् सुस्तरी

म पनि लागें आमाको साथ मेला र पातमा

टुकुमा टुकु हिँड्दै समाती आमाको हातमा

निःसन्देह छ आमा महान सजीव जातमा

 

पखेटा लागे म उडी गएँ गुँडलाई छोडेर

आमाको काख जन्मघरको प्रणय तोडेर

शहर पसें रमाई बसें भुलिएँ उतै नै

गाउँको माटो त्यो बालापन बिर्सिएँ सबै नै

कृतघ्न छोरो रम्दै छ यहाँं अतित बिर्सेंर

कठै ती आमा रुँदै होलिन् मलाई सम्झेर

आमाको छातीे चिरिँदो होला चसक्क चस्केर

 

जननी रुन्छिन्, मलाई सम्झी हरेक छिनमा

बहन्छ भेल नयनबाट रात र दिनमा

डाँडाको जुन ढल्किनै आँट्यो क्षितिज चुमेर

आशै आशमा रोएर बित्छ, बुढ्यौली उमेर

सुनाई देऊ बिलौना मेरो हे प्यारो बतास

पीडाको बेला एक्लिनु पर्दा भएँ म हतास

त्यो छोरालाई भेट्न पाए त हुनेथ्यो मिठास

 

पापी यो छोरो मोजमा मस्त शहरी रंगमा

दुखी आमाको दर्द चर्किन्छ बुढ्यौला अंगमा

म पापी छोरो पुस्न सकिनँ ती आँशु आमाको

कर्तब्य गर्न अक्षम भएँ अयोग्य क्षमाको

आमाको मन सन्तान माथि छोराको कता छ?

स्वार्थी भूमिमा मोज र मस्ती लौ जता जता छ

बुढी आमाको भरोसा टेक्ने पीडक यता छ

 

आमाको माया शीतल छाँया फूलको महक

औँसीको रात अँध्यारोबीच जूनको चहक

शीतल काख न्यानो स्नेह आमाको साथमा

मातृ पाउको चन्दन धुलो लगाएँ माथमा

आमाको साख सुनको थुप्रो हुँदैन समोच्च

पूज्य देवीको मान मर्यादा सदैव सर्वोच्च

आमाको प्यार हिमालभन्दा धेरै नै छ उच्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!