मात्र सम्झनामा डेकेन्द्रराज थापा

भिम सिजापति/दैलेख ।
डेकेन्द्रराज थापा नेपाली पत्रकारीता क्षेत्रमा एक ऐतिहासिक र शुप्रशिद्ध नाम हो । मैले चिन्दा उहाँ दैलेखको होनहार पत्रकार हुनुहुन्थ्यो । उहाँको अपहरण र हत्या हुँदा म माध्यामिक कक्षा पढ्दै थिएँ । त्यसैले उहाँसंग संगत हुने, चिनजान हुने मौका नै थिएन । परिचित नहुँदा उहाँको स्वभाव, आनीबानी, प्रेरणाबारे कुनै याद हुने कुरा पनि भएन । जब पत्रकारिता क्षेत्रमा प्रवेश गरेँ । तब सुनिएको नाम हो यो, अर्थात् डेकेन्द्रराज थापा ।
करिब २०६६ सालदेखि सुरु भएको मेरो पत्रकारितामा धेरैजसो समय यही नाम सुनियो । थुप्रै समाचार र रेडियो रिर्पोट उहाँकै बारेमा लेखियो । धेरैपटक उहाँकै नाम उच्चारण गरियो । उहाँको दुःखद् र अस्वभाविक हत्यापछि परिवारले लडेको न्यायको लडाईमा एक जिम्मेवार पत्रकारका नाताले सहभागी पनि भइयो । मेरो पत्रकारिता जीवन र, रेडियो ध्रुवतारा सामुदायिक एफ.एम. ८९.८ मेगाहर्ज दैलेखसँगको आवद्धतामा भुल्नै नसकिने समाचार र रेडियो रिर्पोटहरुमा यही दिवंगत पात्रसँग सम्बन्धित छन् । अहिले लाग्छ, डेकेन्द्रराज थापा बाँचेको भए, उहाँको सामिप्यतामा हुर्कन सकेको भए… ।
आजकै दिन अर्थात् २०६१ साउन २७ गते । तत्कालिन युद्धरत माओवादी पक्षबाट जुनप्रकारको घटना भयो । आज ठीक १७ वर्ष पुगेको छ । माओवादीसँग सदरमुकाम आउने खानेपानी सम्बन्धी वार्ताका लागि भवानीतर्फ २०६१ असार १२ गते हिँडेका डेकेन्द्रलाई निर्मम यातनापछि साउन २७ गते हत्या गरियो । हत्यापछि चार वर्षसम्म शव लुकाइयो ।
माओवादी हेडक्वार्टरले सार्वजनिक माफी मागेपनि जति पटक अनुनय विनय गर्दा समेत शव दिन स्थानीय नेतृत्व तयार भएन । शवकै पखाईमा परिवारले वर्षौं बितायो । अन्ततः इन्सेकको पहलमा चिहान स्थल फेला पर्‍यो ।
परिवारलाई नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संस्था एड्भोकेसी फोरमले न्यायका लागि अन्तिम समयसम्म दरिलो साथ दिए । फलतः डेकेन्द्रका परिवारले न्यायको महशुस गर्न पाए । नेपालको न्यायिक इतिहासमै यो मुद्दा ‘डेकेन्द्र डक्ट्रिन’ का रुपमा स्थापित बन्न पुग्यो ।
डेकेन्द्रको निर्मम हत्याको त्यतिबेला पनि चौतर्फी निन्दा भयो । अझ हुँदैछ गरिँदैछ । चाहे पत्रकारिता क्षेत्र होस्, चाहे सामाजिक न्याय र मानव अधिकारको क्षेत्र होस् । राजनीतिक क्षेत्र । सबैतिरबाट माओवादीको यही कुकर्मको आलोचना अझ गरिँदैछ । यो माओवादीका लागि अन्त्यहीन आलोचना बन्न पुगेको छ । यसको मूल्य माओवादीले दैलेखमा मात्र होइन करिब देशभर चुकाउँदै आएको नतिजाले देखाएको छ । माओवादी नेताहरुले बेलाबेला अभिव्यक्त गर्ने स्वीकारोक्तिले प्रष्ट पारेको छ ।
उहाँको अवसानपछि दैलेखको पत्रकारिता जुर्मुराएको हो । हामी कलिला पत्रकारहरुको जमात् उहाँकै अवसानपछि बढेको हो । २०६२/०६३ पछिको दोस्रो आन्दोलनको सफलता र माओवादी जनयुद्धको अन्त्यका कारण दैलेखको पत्रकारिता बामे सर्ने अवस्थामा पुगेको हो । यस्तो अवस्थामा साँच्चिकै डेकेन्द्र बाँचेका भए हाम्रो पत्रकारिता अझै निखारिन सक्थ्यो । परिपक्क बन्न सक्थ्यो होला । उहाँ जस्तै निर्भिक, कसैसँग सम्झौता नगर्ने नझुक्ने बन्न सक्थ्यो होला । हामीले पनि उहाँकै सिको गरेर आफ्नो कलम तिर्खान सक्थ्यौं होला । दुर्भाग्य क्रुर हत्या भो । जिल्लाको पत्रकारिताले त अभिभावक गुमायो । उम्रन लागेको पत्रकारिताको मुनालाई निमोठ्यो । पत्रकारिताप्रति डर जन्मायो । तैपनि, जिल्लाको पत्रकारिता र पत्रकारहरुको अठोट हत्तोसाही भएन । छैन् अझैं पनि । उहाँ भएको भए अझ हामीमा हत्तपत्त गल्ती पनि नगर्ने, झुक्दा पनि नझुक्ने स्वभाव हुन्थ्यो होला । यदि उहाँले आफूलाई क्रुर यातना दिने पक्षसँग झुकेको भए, उनीहरुले चाहेका कुरामा सहमत भएको भए उहाँको अवसान पनि सायद हुन्थेन होला । किनकी, उहाँ आफूले गल्ती नगरेपछि सम्झौता पनि नगर्ने मानिस हो भन्ने कुरा उहाँले अपरहणमै छँदा परिवारलाई पठाएको पत्रले पुष्टि पनि गरेको छ ।

२०६१ साल असार १२ गते अपहरणमा परेका स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाले घरपरिवारलाइ लेखेकाे चिठ्ठि । तस्वीर : परिवार स्राेत

पक्कै पनि त्यतिबेलाको असहज परिस्थितिमा पत्रकारिता गर्ने ती डेकेन्द्र बाँचेको भए अहिले पनि हामीले पत्रकारितामै देख्न सक्थ्यौं । अग्रज पत्रकार, अभिभावकका रुपमा उहाँसँगै हुँदा थप उत्साही, आशा र भरोसामा बाँच्न सक्थ्यौं । त्यसैले उहाँको रिक्ततामा धेरै अभावको सामना गरेको छ दैलेखको पत्रकारिताले । गुरुलाई चुँडेर लग्दा अर्ध शिक्षित चेलाझैं बन्न पुगेको छ दैलेखी पत्रकारिता ।
एउटा पत्रकारको बलिदानी, एउटा पत्रकारको कलममाथि धावा बोल्दा कति महँगो मूल्य चुकाउनुपर्छ भन्ने चेतना हाम्रा नेताहरुलाई बोध हुनुपर्छ । डेकेन्द्रलाई राष्ट्रिय/अन्र्तराष्ट्रियकरण गर्ने सन्दर्भमा छाती फूलाएर सहयोग गर्न अग्रसर हुनुपर्छ । नेपालमा दश वर्षे द्धन्द्धमा हतियार उचालेर राज्यसक्ता कव्जा गर्न हिडेको माओवादी २०६२/०६३ को जनआन्दोलन हुँदै शान्ति प्रक्रियामा आएर गणतन्त्र आउँदा समेत दैलेखका २२ जना पत्रकारहरु विस्थापित हुनु परेको थियो ।

२०६९ साल माघ १० गते दैलेखका २२ जना पत्रकारहरू विस्थापित भइ जिल्ला छाेड्नु परेकाे थियाे । तस्विर  : भिम सिजापति

न्याएका लागी लडाँई लड्दै गर्दा डेकेन्द्रका हत्यारालाई कानुनी दायरामा ल्याउनु पर्छ भन्दा तत्कालिन प्रधानमन्त्री डा. वावुराम भट्टराई र महान्यायधिवक्ता मुक्ति प्रधानले प्रत्यक्ष हस्तक्षेप गर्दा दैलेखी पत्रकारहरु विस्थापित हुनु परेको घटना ताजै छ । दैलेख जिल्लामा संचालित विभिन्न संचार माध्याम वन्द गरी दैलेखका २२ जना पत्रकारहरु विस्थापित भएका थिए । त्यसैको फलस्वरुप डेकेन्द्रको हत्यामा संलग्न ९ जना मध्ये ६ जना अभियुक्त कानुनी दायरामा आईसकेका छन् भने ३ अझै फरार रहेका छन् ।
जे नहुनु थियो भयो । अब राजनीतिक गन्ध दिएर डेकेन्द्रलाई सम्झन कसैले कन्जुस्याइँ गर्ने होइन् । उहाँले देखाएको बाटो, उहाँका कर्महरुको सम्मान गर्न सके त्यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *