कार्यालय प्रमुखकाे मनाेमानी, विदामा वस्दा सरकारी गाडीको प्रयाेग
मातृभूमी संवाददाता । २७ साउन दैलेख
आर्थिक बर्ष समाप्त भएसँगै दैलेखका बिभिन्न सरकारी कार्यालयका प्रमुख कार्यालयमा भेटिन छोडेका छन् । कार्यालय छोड्नेमा जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख लगायत बिभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।
कार्यालय प्रमुखले कार्यालय छोड्ने मात्र नभई कार्यालयको सवारी साधन समेत विदामा वस्दा प्रयोग गर्ने गरेको पाईएको छ । खानेपानी सिंचाई तथा उर्जा बिकास कार्यालय दैलेखका प्रमुख अशोकराज गौतमले बिदामा बसेको समयमा सरकारी सवारी साधन प्रयोग गरेको पाईएको छ । उनले लिएको सवारी पासमा संघिय मन्त्रालयमा काम भएको उल्लेख गरीएको भएपनि बिभागिय मन्त्रालयबाट भने बिदा स्वीकृत गराएर विदामा वसेका छन् ।
दैनिक प्रशासनिक कामकाज नै ठप्प गरी कार्यालय प्रमुख विदामा वस्नुले जनता प्रति उत्तरदायी नभएको सेवाग्राहीको गुनासो छ । कार्यालय प्रमुख बिदा वा काजमा जानु पर्ने भएमा आफ्नो तालुक अड्डाबाट बिदा स्वीकृत गरी बस्नु पर्नेमा सो नभई आफुखुसी बसेको कर्मचारीहरु वताउँछन् ।
कार्यालय प्रमुख विदामा वसेको बिषयमा सिंचाई तथा उर्जा मन्त्रालयका निमित्त प्रमुख इन्जिनियर ताराकेशर वाग्लेसँग बुझ्दा कणर्ालीका १० जिल्ला मध्ये केही जिल्लाका कार्यालय प्रमुख बिदामा रहेको र केही मन्त्रालयको कामकाजले काजमा रहेको जानकारी गराए ।
जिल्लाका कार्यालय प्रमुख बिदामा वस्दा जिल्ला प्रशासन कार्यालय पनि जवाफदेही वन्नु पर्दछ ? बिदामा बसेको समयमा सरकारी गाडी प्रयोग गर्न मिल्छ कि मिल्दैन ? भन्ने हाम्रो प्रश्नमा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देबकोटाले बिदामा बसेको जानकारी नभएको वताए । सहायक प्रमुख जिल्ला अधिकारी देबकोटाले भने, ‘विदामा वस्दा जिल्ला प्रशासनलाई जानकारी दिनु पर्छ तर कतिले दिन्छन्, कतिले दिदैनन् । बिदामा बसेको कुनै पनि कर्मचारीले सरकारी सवारी प्रयोग गर्न मिल्दैन र उर्जा बिकास कार्यालयका प्रमुख गौतमले सरकारी कामकाजको शिलशिलामा संघिय मन्त्रालयमा काम परेको भन्दै प्रशासनबाट श्रावण १० गतेदेखी २५ गतेसम्मको सवारी पास लिएका छन् ।’
निजामति सेवा ऐन २०४९ अनुसार निजामती कर्मचारीलाई बार्षिक घर बिदा ३० दिन र अन्य भैपरी आउने तथा सट्टा बिदा गरी बर्षमा १२ दिन बिदामा वस्न पाईन्छ । तयर यहाँका सरकारी कार्यालय प्रमुख कार्यालयमा नियमित हाजिरी नभई कहिले काज त कहिले बिदा भनि बिभिन्न बहानामा कार्यालय छोड्ने गरेकोले पाईएको छ । बिगतको समयमा पनि बिदा अभिलेखमा नदेखाई आपसी मिलोमतोमा बिदा वस्दा कार्यालयवाट प्रवाह गरिने सेवा सुविधामा असर पर्ने गरेको थियो । त्यसैको निरन्तरता यस बर्ष पनि दोहोरिएको स्थानीय वुद्धिजीवी वताउँछन् । खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय दैलेखका कार्यालय प्रमुख गाैतमले मनाेमानी गर्ने गरेकाे नाम नछाप्ने शर्तमा एक स्थानीयले वताए ।
यस्तै खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखको वेवसाईट समेत अपडेट गरिएको छैन । कार्यालयको आधिकारीक वेवसाईटमा कुनै पनि कुरा अपटेड नगरिएको पाईएको हो ।