दैलेख अस्पतालमा एचडियू सञ्चालन

मातृभूमी संवाददाता । ०२ भदौ दैलेख
दैलेख अस्पतालमा २५ शैयाको एचडियू वार्ड सञ्चालनमा आएको छ । वुधवारदेखी अस्पतालमा गम्भीर बिरामी राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालनमा आएको हो । संघीय सरकारले पठाएको ३ करोड १२ लाख ७० हजार रुपैयाँ मध्ये ठेक्का प्रक्रिया मार्फत २ करोड ८० लाखको लागतमा एचडियू सञ्चालनमा ल्याईएको हो ।
सामग्रीहरु खरिद गरेर जडान गरेसँगै २५ बेडको एचडियू सञ्चालनमा ल्याईएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार २५ बेड मध्ये ५ बेड आइसोलेसन वार्ड र २० वटा बेड अस्पतालमै जडान गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीको समयमा कोरोनाका बिरामीलाई उपचार गर्ने प्रयोजनका लागि निर्माण गरिएको आइसोलेसन वार्डमा जडान गरिएको एचडियूले कोरोना संक्रमितको उपचारमा सहज हुने रेग्मीको भनाई छ ।
एचडियू सञ्चालनमा आएसँगै अब सामान्य बेडमा उपचार सम्भव नहुने बिरामीलाई एचडियूमा राखेर उपचार गरिने दैलेख अस्पतालका डा. जगत थापाले बताए । कोरोना संक्रमित बिरामी मात्र नभई स्वासप्रश्वास लगाएतको समस्या भएका गम्भीर बिरामीहरुको उपचारमा सहज हुने डा. थापाको भनाई छ । जनशक्ति अभावमा एक बर्ष अघि खरिद गरेर अस्पतालमा जडान गरिएको भन्टिलेटर थन्काउनुपरेको डा. थापाले वताए ।
एचडियूको बुधवार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापा र नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री थापाले दैलेख अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको जनशक्ति व्यवस्थापन गर्ने बताए । मन्त्री थापाले अबको दुई बर्षभित्र दैलेख जिल्लाको स्वास्थ्य क्षेत्रहरु सबै व्यवस्थित भई सक्ने दावी गरे ।

नेपालमा कोरोनावाट थप २७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जना र ६ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थप एक हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६ सय ७३, भक्तपुरमा १ सय ४१ र ललितपुरमा २ सय १९ जनामा संक्रमण देखिएको हो । योसँगै उपत्यकामा ११ हजार ७ सय ७४ जना सक्रिय संक्रमित छन् ।
यस्तै, १ हजार ९ सय २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *