एमाले समाजवादीमा कर्णाली प्रदेशबाट ७ केन्द्रीय सदस्य

मातृभूमी राजनितिक व्यराे । ०३ भदाै काठमाण्डाै

नेकपा एमाले कर्णाली प्रदेश सभा सदस्य एवम् सामाजिक विकास समितिकी अध्यक्ष देवी ओली पनि माधव नेपालको नेतृत्वमा गठित नयाँ पार्टीको केन्द्रीय कमिटीको सदस्यमा चयन भएकी छिन् ।

उनले वैशाख ३ गते माओवादीको संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर पछि सच्याएकी थिइन् । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी नाममा दर्ता भएको पार्टीको ८६ औं नम्बरमा केन्द्रीय सदस्यको रुपमा उनलाई राखिएको हो । उनीसँग यसबारेमा कुरा गर्न खोज्दा उनको फोन उठेन । ओलीसँगै प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही पनि नयाँ पार्टीमा लागेका छन् ।

उक्त दलमा केन्द्रीय सदस्यको रुपमा राष्ट्रिय सभा सदस्य नन्दा शर्मा चपाईं पनि चयन भएकी छिन् । उनी राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन् । चपाईंसहित जाजरकोटकी रिता रावल, नेकपा एमालेका केन्द्रीय सदस्य रहेका प्रदेश सभा सदस्य चन्द्रबहादुर शाही, शेरबहादुर केसी, हंसबहादुर शाही र प्रकाश ज्वाला पनि केन्द्रीय कमिटिमा चयन भएका छन् । कर्णाली प्रदेशबाट ९५ सदस्यीय केन्द्रीय कमिटिमा सात जना चयन भएका हुन् ।

भिम रावलको निणर्य कुर्दै सुदूरपश्चिमका एमाले

सुदूरपश्चिममा एमालेका उपाध्यक्ष भीम रावलको प्रभाव बलियो छ । विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन् । उनले नेपालको साथ छोडेको चर्चा पनि छ । रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन् ।

उपाध्यक्ष रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिमका प्रदेशसभा सदस्यको साथ पनि गुमाएको आकलन गर्न थालिएको छ । अधिकांश प्रदेश सांसदहरु रावलले लिने निणर्य अनुसार नै अगाडि बढ्ने तयारीमा देखिएका छन् । नेता रावलले एमालेमै रहने वा एमाले समाजवादीमा जानेबारे निणर्य नगर्दा अहिले अधिकांश प्रदेश सांसद मौन रहेको एक सासंदले बताए ।

‘हाम्रो नेता भीम रावल हुन्,’ उनले भने, ‘रावलको निणर्यअनुसार नै सुदूरपश्चिमको अंकगणित पनि फेरबदल हुन्छ ।’ अहिले नेपाल समूहको एमाले समाजवादीको केन्द्रीय कमिटीमा सुदूरपश्चिमका २५ प्रदेश सांसद मध्ये दुई जना मात्रै परेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र पूर्ववनमन्त्री माया भट्ट मात्रै केन्द्रीय कमिटीमा परेका छन् ।

विगतमा माधव समूहमा १८ जना र ओली समूहमा सात जना प्रदेश सांसद रहेका थिए । पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी र बलदेव रेग्मी मात्रै ओली पक्षमा थिए भने वर्तमान मन्त्रिमण्डलका चार मन्त्रीसहित १८ जना सासंद नेपाल पक्षमा थिए ।

तर मन्त्री जोशीबाहेक अन्य मन्त्रीले समेत एमाले विभाजनलाई साथ दिएका छैनन्। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्काले तत्काल एमालेमै रहने संकेत देखाएका छन् ।

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले प्रदेश सासंद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्नुुपर्ने सुविधा दिएको छ । २१ दिनपछि मात्रै एमालेमै रहने प्रदेश सांसद र एमाले समाजवादीमा जाने सांसदको टुंगो लाग्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *