दैलेखकाे पेट्रोलियम पदार्थ उत्खननमा एमाले अध्यक्ष ओलीकाे चासाे

मातृभूमी संवाददाता । ०६ भदाै काठमाण्डाै

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खननकाे सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन् । उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग भएको भेटघाटमा उनले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह गरे । अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीला लगायतका क्षेत्रमा चीन सरकारसँग जिटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो ।

भेटमा अध्यक्ष ओलीले कर्णालीले दैलेखमा भएको पेट्रोल खानीको उत्खनन्, मुगुको रारा तालको प्रवद्र्धन, हुम्ला हुँदै मानसरोवर जाने मार्गको विकास, डोल्पा, मुगु र हुम्लामा पाइने जीवनबुटी (यार्सागुम्बा) लगायतका बहुमूल्य जडीबुटीको बुद्धिमतापूर्ण सङ्कलन र प्रशोधनको कामको थालनी भएमा सो प्रदेशको पहिचान नै बदलिने बताउनुभएको भेटमा सहभागी दैलेखका पत्रकार विष्णु शर्माले जानकारी दिए ।

कर्णाली प्रदेश स्रोतसाधनमा धनी भएकाले हावाबाट बिजुलीको उत्पादन, जडीबुटीको पहिचान र प्रशोधन पनि गर्न सकिए प्रदेशका साथै देशकै समृद्धि हुने भएकाले आफूहरुले राजनीतिक नेतृत्वलाई निरन्तर ध्यानाकर्षण गराउने सो प्रदेशका पत्रकार नवराज महताराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *