एमालेले बोलायो स्थायी कमिटीको बैठक : १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति
मातृभूमी राजनितिक व्युराे । ०७ भदाै काठमाण्डाै
नेकपा एमालेले मंगलबार स्थायी कमिटीको बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले एमालेका दोस्रो तहका नेताहरुसँग छलफल गरेपश्चात मंगलबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका हुन् । सोमबार बिहान माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा नगएका र एमाले संस्थापनसँग पनि नरहेर बीचमा एकताकै पक्षमा उभिएका नेताहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।
मंगलबार विगतमा नेपालको पक्षमा रहँदै आएका र हाल एमाले एकताकै पक्षमा उभिएका दोस्रो तहका नेतापनि स्थायी कमिटीको बैठकमा सहभागी हुने सचिव भीम आचार्यले जानकारी दिए । उनका अनुसार साेमवार ओलीसँगको भेटमा यस अगाडिको १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको छ । आचार्यले भने, ‘ १० बुँदे सहमति तत्काल लागू गर्ने र एमालेलाई एकताबद्ध बनाउने सहमति भएको छ । एमाले एकताबद्ध बनाउन बैठकमा सहभागी हुन्छौं ।’
बैठकमा माधव पक्षका विगठित कार्यदलका सदस्य पनि सहभागी हुनेछन् । आचार्यका अनुसार स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी भएको छ । १० बुँदे कार्यान्वयनका सन्दर्भमा देखिने समस्या समाधान गर्न कार्यदलको समेत प्रस्ताव भएको छ ।
यस अगाडि उपाध्यक्षहरू भीम रावल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताले पार्टी एकताको प्रयत्न जारी राख्ने बताएका थिए । ५७ केन्द्रीय सदस्य र सांसदको भेलाले १० बुँद्धे सहमति तत्काल कार्यान्वयनमा जोड दिँदै माधव कुमार नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह गरेको थियो । उनीहरुले एमाले नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए ।
एकताको पक्षमा रहेका नेताहरु सहितको स्थायी कमिटी बैठकले १० बुँदे सहमति तत्काल लागू गर्ने, पहिलेकै जिम्मेवारीमा फर्काउने र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्न निर्णय गर्ने सम्भावना रहेको छ ।