दिनभर भारी वर्षाको सम्भावना, सचेत रहन अनुराेध
मातृभूमी संवाददाता । ०८ भदाै दैलेख
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा हल्का देखि भारी वर्षा भइरहेको हाे ।
मगंलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेकाे छ ।
बुधबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नं २ का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।