दैलेखका स्थानीय तहको वेरुजु ४४ करोड ७५ लाख ८० हजार
मातृभूमी संवाददाता । ०९ भदौ दैलेख
दैलेखका ११ स्थानीय तहमध्ये सबैभन्दा वढी वेरुजु ठाँटिकाँध गाउँपालिकाको रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन अनुसार ठाँटिकाँध गाउँपालिकाको वेरुजु सवैभन्दा वढी रहेको हो । जिल्लामा सवैभन्दा कम वेरुजु हुनेमा भगवतीमाई गाउँपालिका रहेको छ । सबैभन्दा वढी वेरुजु ठाँटिकाँध गाउँपालिकाको र सवैभन्दा कम वेरुजु भगवतीमाई गाउँपालिकाको देखिएको छ । यहाँका स्थानीय तहले लेखा परिक्षण गरेको कुल रकम मध्ये ठाँटिकाँध गाउँपालिकाको वढी र भगवतीमाई गाउँपालिकाको कम वेरुजु देखिएको हो ।
दैलेखको आठविस नगरपालिकाले ८१ करोड ९३ लाख २० हजारको लेखा परिक्षण गरेकोमा २ करोड ६८ लाख ६७ हजार वेरुजु देखिएको छ । आठविस नगरपालिकाले लेखा परिक्षण गरेको कुल रकमको ३ दशमलव २८ प्रतिशत रकम वेरुजु आएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिकाले ९४ करोड ५६ लाख २९ हजारको लेखा परिक्षण गरेकोमा २ करोड ६८ लाख ६३ हजार वेरुजु देखिएको छ । उक्त वेरुजु लेखा परिक्षण गरिएको कुल रकमको २ दशमलव ८४ प्रतिशत हो ।
यसैगरी दैलेखको सवैभन्दा पुरानो नारायण नगरपालिकाले १ अर्व ११ करोड ८६ लाख २० हजारको लेखा परिक्षण गरेकोमा ४ करोड २७ लाख ३ हजार वेरुजु रहेको छ । लेखा परिक्षण गरेको कुल रकम मध्ये ३ दशमलव ८२ प्रतिशत वेरुजु देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखा परिक्षकको प्रतिवेदनमा दुल्लु नगरपालिकाको ४ करोड २७ लाख ३ हजार वेरुजु रहेको उल्लेख गरिएको छ । दुल्लुले १ अर्व ५० करोड ५३ लाख ५३ हजारको लेखा परिक्षण गराएकोमा २ दशमलव ९३ प्रतिशत वेरुजु देखिएको हो ।
यता सवैभन्दा वढी वेरुजु देखिएको ठाँटिकाँध गाउँपालिकाको कुल वेरुजु १० करोड १३ लाख २५ हजार रहेको छ । ठाँटिकाँधले १ अर्व २५ करोड ७३ लाख ३८ हजारको लेखा परिक्षण गरेकोमा कुल रकमको ८ दशमलव ०६ प्रतिशत वेरुजु देखिएको हो । यस्तै दैलेख निर्वाचन क्षेत्र नं. २ मा पर्ने भैरवी गाउँपालिकाको वेरुजु ३ करोड ९५ लाख २२ हजार रहेको छ । भैरवीले ८५ करोड ९६ लाख १९ हजारको लेखा परिक्षण गरेकोमा ३ करोड ९५ लाख २२ हजार अर्थात ४ दशमलव ६० प्रतिशत वेरुजु देखिएको छ ।
दैलेखको उत्तरपुर्वमा पर्ने नौमूले गाउँपालिकाले ७८ करोड ७८ लाख ५३ हजारको लेखा परिक्षण गरेकोमा ३ करोड ४६ लाख १६ हजार वेरुजु आएको छ । यो वेरुजु गाउँपालिकाले लेखा परिक्षण गरेको कुल रकमको ४ दशमलव ३९ प्रतिशत हो । यहाँको महावु गाउँपालिकामा ४ दशमलव १४ प्रतिशत वेरुजु रहेको छ । गाउँपालिकाले गरेको ७९ करोड २ लाख १ हजार मध्ये ३ करोड २६ लाख ८५ हजार वेरुजु रहेको छ ।
दैलेखको पुर्वमा पर्ने भगवतीमाई गाउँपालिकाको वेरुजु भने दैलेखमा सवैभन्दा कम रहेको छ । भगवतीमाईले लेखा परिक्षण गरेको ९६ करोड १७ लाख ६३ हजार मध्ये १ करोड ८३ लाख १७ हजार वेरुजु रहेको छ । यो लेखा परिक्षण गरेको कुल रकमको १ दशमलव ९० प्रतिशत हो । भगवतीमाईले २ करोड १२ लाखको विभिन्न निर्माण कार्य सम्पन्न गरेकोमा १ करोड ९ लाख रुपैयाँको निर्माण सामग्री सोझै खरिद गरेको छ भने श्रमिकको बैंक खातामा १ करोड २ लाख ८० हजार जम्मा भएको छ । प्रतिस्पर्धात्मक विधि अवलम्बन नगरी सोझै निर्माण सामग्री खरिद गर्नु कानुन सम्मत नभएको भन्दै सुधार गर्नुपर्ने महालेखाले बताएको छ ।
यस्तै दैलेखको डुङ्गेश्वर गाउँपालिकाको वेरुजु २ करोड ५१ लाख ९३ हजार रहेको छ । डुङ्गेश्वरले लेखा परिक्षण गरेको कुल ७४ करोड ४५ लाख ५ हजार मध्ये सो रकम वेरुजु आएको हो । यो लेखा परिक्षण गरेको कुल रकमको ३ दशमल ३८ प्रतिशत हो । उता गुराँस गाउँपालिकाले ८९ करोड ५३ लाख ८ को लेखा परिक्षण गरेकोमा ५ करोड ५४ लाख १९ हजार वेरुजु देखिएको छ । यो वेरुजु लेखा परिक्षण गरेको कुल रकमको ६ दशमलव २२ प्रतिशत हो ।
आर्थिक वर्ष २०७६/०७७ मा दैलेखका स्थानीय तहले लेखा परिक्षण गरेको कुल १० अर्व ६८ करोड ७३ लाख ९ हजार मध्ये ४४ करोड ७५ लाख ८० हजार वेरुजु रहेको छ । लेखा परिक्षण गरिएको कुल रकमको ४ दशमलव १९ प्रतिशत वेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दैलेखका स्थानीय तहहरुमा नगरपालिका मध्ये दुल्लु नगरपालिकाले सवैभन्दा वढी १ अर्व ५० करोड ५३ लाख ५३ हजार र सवैभन्दा कम आठविस नगरपालिकाले ८१ करोड ५३ लाख २० हजारको लेखा परिक्षण गराएका छन् । यसैगरी गाउँपालिका मध्ये ठाँटिकाँध गाउँपालिकाले सवैभन्दा वढी १ अर्व २५ करोड ७३ लाख ३८ हजार र सवैभन्दा कम डुङ्गेश्वर गाउँपालिकाले ७४ करोड ४५ लाख ५ हजार रुपैयाँको लेखा परिक्षण गराएका छन् । यसरी सरसर्ति हेर्दा वढी रकमको लेखा परिक्षण गर्ने स्थानीय तहको वेरुजु रकम पनि वढी नै देखिएको छ ।