भाडा बिना एम्बुलेन्स चलाउन नमानेपछि ठाँटिकाँधमा शिशुको मृत्यु
मातृभूमी संवाददाता । ०९ भदौ दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिकामा शिशुको मृत्यु भएको छ । उपचार गर्न सुर्खेत लैजान एम्बुलेन्सको भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको मृत्यु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रले प्रदेश अस्पताल सुर्खेत रेफर गरेपछि शिशुलाई सुर्खेत लैजान गाउँपालिका र स्वास्थ्य संस्थाले सञ्चालन गरेको एम्बुलेन्स जान नमानेपछि शिशुको ज्यान गएको हो ।
स्वास्थ्य केन्द्र लगिएको शिशुलाई गम्भीर प्रकृति निमोनिया देखिएपछि स्वास्थ्यकर्मीले सुर्खेत रेफर गरेका थिए । सुर्खेत लैजानका लागि एम्बुलेन्ससँग आग्रह गर्न पुगेकी शिशुकी आमा मञ्जु विकलाई चालकले पहिलेकै पैसा तिर्न बाँकी रहेको र उक्त रकम तिरे मात्रै एम्बुलेन्स चलाउने भन्दै फर्काएका थिए ।
विकले आफूले गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई एम्बुलेन्स मिलाइदिन आग्रह गर्दा पनि उहाँले वास्ता नगरेको गुनासो गरेकि छन् । आफू ऋण खोज्न गाउँ गए पनि तत्काल ऋण नपाउदा शिशुको ज्यान गएको आमा मञ्जु विकले बताइन् ।
मंगलबार दिउँसो २ बजेदेखि एम्बुलेन्सका लागि अनुरोध गर्दा र पैसा खोज्दाखोज्दै राति १० बजे गाउँपालिकाको एम्बुलेन्समा शिशुलाई लिएर अस्पताल जाँदै गर्दा बुधवार बिहान साँढे चार बजे अस्पताल पुग्ने बेलामा शिशुको ज्यान गएको मञ्जुले बताइन् । नौ हजार रुपैयाँ भाडा नदिइ एम्बुलेन्स नचलाउने अडान लिएका चालकलाई स्वास्थ्यकर्मी र प्रहरीले भाडाको जिम्मेवारी लिने गरी अनुरोध गरेपछि राति १० बजेमात्रै एम्बुलेन्स चलाएका थिए ।
गाउँपालिकाका अध्यक्ष शाहीले भने आफूलाई लगाएको आरोप झुट भएको भन्दै आफूले नै एम्बुलेन्स मिलाउनका लागि प्रहरीलाई समेत फोन गरेको बताए । शिशुको स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै एम्बुलेन्स खोज्न आउँदा दुःखद घटना भएको र आफूलाई पछुतो लागेको शाहीले बताए ।