दैलेखमा स्थानीय तहका जनप्रतिनिधी एमाले र एकीकृत समाजवादीमा साठ्ठी-चालिस

मातृभूमी राजनितिक व्युरो । १५ भदौ दैलेख
२०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट विजयी भएका दैलेखका जनप्रतिनिधीहरुले आफ्नो कित्ता क्लियर गरेका छन् । नेकपा एमाले विभाजन पछि एमालेमै रहने वा माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)मा रहने भन्नेमा यहाँका जनप्रतिनिधीहरुले कित्ता क्लियर गरेका हुन् ।
दैलेखका स्थानीय तहका जनप्रतिनिधी ६०/४० मा वाँडिएका छन् । यहाँका जनप्रतिनिधीले आफ्नो समर्थन कहाँ रहने भनेर खुलाउन थालेका हुन् । प्रष्ट रुपमा खुलेका हिसावले एमालेमा रहने झण्डै ६० प्रतिशत र नेकपा (एकीकृत समाजवादी) लाई समर्थन गर्ने झण्डै ४० प्रतिशत देखिएका छन् । ११ स्थानीय तह रहेको दैलेखमा नेकपा एमालेले ७ वटा स्थानीय तहमा प्रमुख र ७ वटै स्थानीय तहमा उपप्रमुख जितेको थियो ।
१४ जना प्रमुख तथा उपप्रमुख मध्ये ५ जना प्रमुख र ३ जना उपप्रमुख एमालेमै रहने जनाएका छन् भने २ जना प्रमुख र ४ जना उपप्रमुखले एकीकृत समाजवादीमा जाने औपचारिक रुपमा मुख खोलेका छन् । स्थानीय तहमा एमालेबाट जितेका प्रमुख तथा उपप्रमुख मध्ये एमालेमै रहने ८ जनाको संख्यालाई प्रतिशतमा हेर्दा ५७ दशमलव १५ प्रतिशत र एकीकृत समाजवादीमा जान चाहने ६ जनाको संख्यालाई प्रतिशतमा हेर्दा ४२ दशमलव ८५ प्रतिशत हुन आउँछ ।
जिल्लाका ११ स्थानीय तहका ९० वडा मध्ये ५३ वटा वडाहरुमा वडाध्यक्ष सहित सबैजसो वडा सदस्य जितेको एमालेका ३१ जना वडाध्यक्ष एमालेमै रहने जनाएका छन् भने २२ जना वडाध्यक्षले एकीकृत समाजवादीलाई समर्थन गर्ने जनाएका छन् । यहाँका ९० वडा मध्ये ५३ वडा जितेको एमालेका ३१ जना एमालेमै रहने जनाएका समर्थकहरुको संख्या पनि ५८ दशमलव ५० प्रतिशत र एकीकृत समाजवादी रोज्न चाहने २२ जना वडाध्यक्षहरुको संख्या ४१ दशमलव ५० प्रतिशत हुन्छ ।
यसरी एमाले विभाजन पछि एकीकृत समाजवादी पार्टी रोज्ने स्थानीय तहका प्रमुखहरुमा महावु गाउँपालिकाका अध्यक्ष जंगवहादुर शाही र उपाध्यक्ष प्रेमकुमारी वुढा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानवहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा कुमारी शाही र ठाँटिकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह रहेका छन् । अन्य स्थानीय तहका प्रमुख र उपप्रमुखले मुख खोलेका छैनन् भने केहीले एमालेमै रहने जनाई सकेका छन् ।
दैलेखका ९० वडा मध्ये २०७४ सालको स्थानीय तहको निर्वाचनमा ५३ वडामा एमाले विजयी भएको थियो । जसमध्ये आठविस नगरपालिकाका ९ वडा मध्ये ४ वडामा एमाले, ४ वडामा कांग्रेस र १ वडामा नेमकिपा विजयी भएको थियो । एमालेवाट विजयी भएका ४ जना वडाध्यक्ष नै एमालेमा छन् । चामुण्डा विन्द्रासैनी नगरपालिकाका ९ वडा मध्ये ६ वडामा एमाले, २ वडामा नेमकिपा र १ वडामा कांग्रेस विजयी भएको थियो । ६ वडामा विजयी भएका वडाध्यक्ष मध्ये ४ जना एमाले र २ जना वडाध्यक्ष एकीकृत समाजवादीमा खुलेका छन् ।
यता दैलेखको दुल्लु नगरपालिकाका १३ वडा मध्ये ८ वडामा एमाले र ५ वडामा कांग्रेस विजयी भएको थियो । जसमध्ये ८ वडामा जितेका वडाध्यक्ष मध्ये ४ जना एमालेमै र ४ जना एकीकृत समाजवादीतिर लागेका छन् । दैलेखको सवैभन्दा पुरानो नारायण नगरपालिकाका ११ वडा मध्ये ८ वडामा एमाले र ३ वडामा कांग्रेसले वाजी मारेको थियो । जसमध्ये ८ जना वडाध्यक्ष मध्ये ५ जना एमाले र ३ जना एकीकृत समाजवादीमा खुलमखुल्ला लागेका छन् ।
यसैगरी दैलेखको भगवतीमाई गाउँपालिकाका ७ वडा मध्ये ५ वडामा एमाले, १ वडामा कांग्रेस र १ वडामा राप्रपाले जितेको थियो । भगवतीमाईका ५ जना वडाध्यक्ष मध्ये ४ जना एकीकृत समाजवादीतिर लागेका छन् भने १ जना एमालेमै छन् । यहाँको उत्तरपुर्वमा पर्ने नौमूले गाउँपालिकाका ८ वडामध्ये ३ वडामा एमालेले वाजी मारेको थियो भने ५ वडामा कांग्रेस विजयी भएको थियो । जसमा ३ जना वडाध्यक्ष मध्ये २ जना एमाले र १ जना समाजवादीमा खुलेका छन् ।
दैलेखको गुराँस गाउँपालिकाका ८ वडा मध्ये ४ वडामा कांग्रेस र ४ वडामा एमालेले जितेको थियो । ४ वडामा जितेका एमालेका वडाध्यक्ष मध्ये २ जना समाजवादी र २ जना एमाले नै रहेका छन् । ६ वडा रहेको डुङ्गेश्वर गाउँपालिकाका २ वडामा एमालेले वाजी मार्दा ४ वडामा कांग्रेस विजयी भएको थियो । एमालेका २ जना वडाध्यक्ष मध्ये १ जना समाजवादी र १ जना एमालेमै छन् । ६ वटै वडा रहेको महावु गाउँपालिकाका ४ वडामा एमाले जित हाँसिल गर्दा २ वडामा कांग्रेसले वाजी मारेको थियो । ४ जना वडाध्यक्ष मध्ये १ जना एमालेमै र वाँकी ३ जना समाजवादीमा खुलेको जनाईएको छ ।
उता ठाँटिकाँध गाउँपालिकाका ६ वडामध्ये ५ वडामा एमाले र १ वडामा कांग्रेसले जितेको थियो । जसमा ५ जना वडाध्यक्ष मध्ये ३ जना एमाले र २ जना समाजवादीमा खुलेका छन् । भने ७ वडा रहेको भैरवी गाउँपालिकामा ४ वडामा एमाले र ३ वडामा कांग्रेसले जितेको थियो । भैरवीमा एमालेवाट जितेका ४ जना वडाध्यक्ष नै एमालेमा छन् भने समाजवादी रोज्ने वडाध्यक्ष कोहि पनि छैनन् ।

जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ सम्मको म्याद

निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएको पार्टी छनोटका लागि भदौ २२ गतेसम्मको समय दिएको छ । निर्वाचन आयोगको आइतबारको बैठकले एमाले र जसपाबाट छुट्टिएर गठन भएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेका लागि समय निर्धारण गरेको हो । निर्वाचन आयोगका एक आयुक्तका अनुसार नयाँ दल भदौ २ गते गठन भएकाले नयाँ दल रोज्ने समय भदौ २२ गतेसम्म तय गरिएको हो । राजनीतिक दल सम्बन्धी अध्यादेशमा नयाँ दल गठन भएको २१ दिनभित्र पुरानो दलबाट नयाँ दलमा प्रवेश गर्नका लागि २१ दिनको समय दिने व्यवस्था गरिएको र सोही बमोजिम आयोगले निणर्य लिएको ती आयुक्तको भनाइ छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने एमालेबाट छुट्टिएर माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) र जसपाबाट छुट्टिएर महन्थ ठाकुरको अध्यक्षतामा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको हो । प्रदेशसभाका सदस्यहरूले प्रदेश निर्वाचन आयोगको कार्यालय र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ दलमा आफ्नो सनाखत गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *