भैरीकालिकाथुम स्वास्थ्य चौकीमा पाईदैन पखालाको औषधी

मातृभूमी संवाददाता । १८ भदौ दैलेख
दैलेखको भैरवी गाउँपालिकामा रहेको भैरीकालिकाथुम स्वास्थ्य चौकीमा विरामीहरुले झाडापखालाको औषधी नपाईएको गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा पुग्ने अधिकांस विरामीले झाडापखालाको औषधी नपाईएको गुनासो गर्ने गरेका छन् । स्वास्थ्य चौकीमा पखालाको औषधी नपाईएपछि भैरीकालिकाथुम पुग्ने झाडापखालाका विरामीले चर्को मुल्य तिरेर निजी मेडिकलमा उपचार गर्न बाध्य भएको वताएका छन् ।
त्यतिमात्र हैन स्वास्थ्य चौकीमा आईरन चक्की पनि पाईदैन । अति अवाश्यक र धेरै प्रयोग हुने औषधि स्वास्थ्य चौकीमा नपाउँदा स्थानीय निःशुल्क स्वास्थ्य सेवा पाउनवाट वन्चित भएका छन् । स्वास्थ्य चौकीवाट निःशुल्क दिईने ३५ प्रकारका औषधीमध्ये भैरीकालिकाथुम स्वास्थ्य चौकीमा मुस्किलले १५ प्रकारका औषधी रहेका छन् । गाउँपालिकाले गतवर्ष खरिद गरेको औषधि थन्काएर राखेको छ ।
स्वास्थ्य चौकीवाट वितरण गरिने सामान्य भन्दा सामान्य औषधी पनि नपाउँदा महंगो मुल्य तिरेर स्थानीय मेडिकलवाट औषधी किन्नु पर्ने वाध्यता रहेको स्थानीयले वताएका छन् । रुघाखोकी लाग्दा, सामान्य ज्वरो आउँदा, पखाला लाग्दा र टाउको दुख्दा स्वास्थ्य चौकी जाँदा औषधी नपाईए पछि स्थानीय मेडिकल जाने गरेको स्थानीयको भनाई छ ।
औषधि नपाउँदा स्वास्थ्य सेवा कार्यालय दैलेखबाट औषधी ल्याएर काम चलाईरहेको भैरिकालिकाथुम स्वास्थ्य चौकीका इन्जार्ज करुणाखर खत्रीले वताए । औषधी माग गर्दा भैरवी गाउँपालिकाले सुनुवाई नगर्दा विरामीका लागि आवश्यक औषधी समेत दिन नसकिरहेको इन्चार्ज खत्रीले बताए । उनका अनुसार यो आर्थिक वर्षमा जिल्लाबाट पनि औषधी नआउँदा अभाव भएको हो । परिवार नियोजनका साधनहरु र बच्चाहरुका लागि मात्र पर्याप्त औषधी रहेको जनाईएको छ ।
स्वास्थ्यकर्मीहरुले उपलब्ध स्रोत साधनबाट विरामीको उपचार गरिरहेको भएपनि औषधि अभाव हुँदा मेडिकलबाट महंगो मुल्यमा औषधी किन्नु पर्ने बाध्यता रहेको छ । गाउँमा धेरै विरामी हुने रोगका औषधीहरु अभाव भएको स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीमा नागरिक वडापत्र टाँस नभएको र निःशुल्क पाईने औषधीका प्रकारको समेत टाँस गरिएको छैन । वडापत्र र औषधिको प्रकार टाँस गर्ने बजेट समेत नभएकाले टाँस नभएको स्वास्थ्य चौकीका इन्जार्ज खत्रीले बताए ।
गाउँपालिकासँगै जोडिएको सुगम मानिने भैरिकालिकाथुम स्वास्थ्य चौकीको यस्तो हालत छ भने कालिकोटसँग सिमा जोडिएका स्वास्थ्य चौकीको हालत दयनीय छ । बिरामीहरुले स्वास्थ्य चौकीमै राज्यद्वारा वितरण गरिएको निःशुल्क औषधी पाउनबाट बञ्चित हुनु दुखद भएको नागरिक समाजका अगुवा तथा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए । गाउँपालिकामा औषधी भएपनि स्वास्थ्य चौकीले माग नगरेकाले दिन नसकिएको भैरवी गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *