एकै घरका तीन जना काँग्रेसको क्षेत्रीय प्रतिनिधि
मातृभूमी राजनितिक व्युरो । २० भदौ दैलेख
नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि यति बेला वडा तहहरुमा अधिवेशन चलिरहेको छ । कतिपय जिल्लामा सर्वसम्मत र केही जिल्लाहरुमा यति बेला निर्वाचनबाटै वडा तहको नयाँ नेतृत्वको छिनाफानो भइरहेको छ । तर केही जिल्लामा नयाँ सदस्यता विवादले वडा तहको अभिवेशन अन्यौल छ । यद्यपी देशैभर चुनावी सरगर्मी भने बढीरहेको छ ।
दैलेखमा पनि वडा तहको अधिवेशनको माहोल तातिरहेको छ । केही स्थानमा पुराना पुस्तालाई विस्थापन गर्दै युवा पुस्ताले वडा सभापतिमा वर्चश्व जमाइरहेका छन् । पछिल्लो उदाहरण हो दुल्लु नगरपालिका वडा नम्बर ३ की १९ वर्षीय स्वास्तिका महत वडा सभापतिमा चयन भएसँगै चर्चा बटुलिरहेकी छन् ।
सामाजिक संजालमा भाइरल भइरहेही महतपछि दैलेखको नारायण नगरपालिका वर्डा नम्बर ९ बाट भने एकै परिवारका तीन जना क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन हुनेमा एकै परिवारका बाबु रेशम सुनार, आमा मीना सुनार र छोरा नवीन सोनी रहेका छन् ।
उनीहरु नेपाली कांग्रेसको मुक्ति सेनाको पश्चिम कमाण्डर पूर्व सांसदसँगै कांग्रेस पार्टीको भातृ संगठन दलित संघको परिकल्पनाकार एवं संस्थापक नेता रत्नबहादुर सुनारका छोरा बुहारी र नाती समेत हुन् । रत्नका छोरा रेशम पार्टीको पूर्व सह-सचिव र पत्रकार डेकेन्द्र थापा हत्या विरुद्धको तेर्सो जनआन्दोलनका घाइते हुन् । रेशमका छोरा भने तरुण दल दैलेखमा आवद्ध छन् । रेशमकी श्रीमती मिना भने महिला संघमा आवद्ध थिइन् ।
पुस्ताले नै कांग्रेसमा तनमनधनसँगै खुन पसिना बगाएकोले पार्टीले आगामी दिनमा जिम्मेवारी दिएमा बहन गर्न सक्ने क्षमता रहेको रेशम बताउँछन् । आफूलाई र आफ्नो परिवारलाई वडा नम्बर ९ का क्रियाशील काँग्रेसले दिएको माया प्रति रेशमले धन्यावाद दिएका छन् ।