मैत्रीपुर्ण फुटवलमा नेपाल भारतसँग २–१ गाेल अन्तरले पराजित
मातृभूमी संवाददाता । २० भदाै काठमाण्डाै
भारत विरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल घरेलु मैदान दशरथ रंगशालामा २–१ ले पराजित भएको छ । नेपालले पहिलो हाफमा पाएको गोलका केही राम्रो अवसर खेर फाल्दा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । दोस्रोमा सुधारिएको प्रदर्शन गरेको भारतले ६२औँ मिनेटमा वैकल्पिक खेलाडी फारुख चौधरीको गोलबाट अग्रता लियो ।
सुनिलले ८१औँ मिनेटमा गरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । लगभग मध्यभागमा अनिरुद्ध थापाले हेडमाफर्त दिएको पास नियन्त्रणमा लिदै अघि बढेका सुनिलले ‘वान भर्सेस वान’मा सहज गोल गरेका थिए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी हुँदा तेज तामाङले गरेको गोलबाट नेपालले खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । तेजले झन्डै ३० यार्डबाट हानेको लामो प्रहारलाई भारतका गोलकिपर अमरिन्दर सिंहले ठम्याउन सकेनन् । पहिलो खेलमा नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।
नेपालका विशाल राईले ६८औँ मिनेटमा बराबरी गोल फर्काउने राम्रो मौका खेर फाले । वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले दिएको पासमा विशालले ६ यार्ड बक्स नजिकैबाट हानेको प्रहार थोरैले बाहिरिएको थियो । त्यस्तै ७४औँ मिनेटमा पनि मनिष डाँगी गोल गर्न चुके । अञ्जन विष्टले दायाँ भागबाट दिएको सुन्दर क्रसमा मनिषले हानेको प्रहारले पोष्टको दिशा लिन सकेनन् ।
त्यसअघि मनिषले १३औँ मिनेटमा पनि गोलको राम्रो अवसर खेर फाल्दा नेपालले अग्रता लिने मौका गुमाएको थियो । तेजले दिएको पास मनिषले ६ यार्ड बक्समा नियन्त्रणमा लिएका थिए । तर पाएको बलमा आफुले नहानी आशिष लामालाई पास दिन खोज्दा गोलको अवसर खेर फालेका थिए ।
२८औँ मिनेटमा नेपालले गोल गर्ने अर्को राम्रो अवसर पाएको थियो । आयुष घलानले गरेको क्रस आशिष लामाले हेड नभेट्दा अग्रता लिने राम्रो अवसर खेर गएको थियो ।
किरणले रचे इतिहास
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेमजोङले नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने इतिहास रचेका छन् । किरणले आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाली टोलीबाट सबभन्दा धेरै खेल्ने इतिहास रचेका हुन् ।
किरणले बिहीबार भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पूर्व कप्तान विराज महर्जनसँग ७३ खेलको कीर्तिमानीसँग बराबरी गरेका हुन् ।
किरणले कोलम्बियामा सम्पन्न २००८ को एएफसी च्यालेन्ज कप छनोट प्रतियोगितामा मकाउविरुद्ध नेपालबाट डेब्यू गरेका थिए । फनोम पेन्थस्थित कोलम्बियाको नेशनल ओलम्पिक रंगशालाको मैदानमा किरणको डेब्यू गर्दाको खुसी लामो समय टिक्न सकेन । २४ मेको त्यो डेब्यू खेलमा किरण चिउडोमा चोट लागेपछि २४औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । त्यसयता उनले नेपालबाट ७२ खेल खेलिसकेका छन् । तथापी उक्त खेलमा नेपालले मकाउलाई ३–२ ले हराएको थियो ।
त्यसपछि किरणलाई पुनः राष्ट्रिय टोलीमा फर्किन तीन वर्ष लाग्यो । उनको लगनशिलता र कडा परिश्रमले आज उनी इतिहास रच्न सफल भएका छन् । आइतबार भारतविरुद्ध खेल्दा किरणले नेपाली फुटबलमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन् ।
किरणले १७ मार्च २०११ मा पोखरा रंगशालामा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेको छैन । पुनरागमनपछि किरणले सुरुको २८० गोल खाएका थिएनन् । उनीविरुद्ध उत्तर कोरियाका जङ उल क्लाने पहिलो गोल गरेका हुन् ।
दशरथ रंगशालामा भने किरणले अफगानिस्तानविरुद्ध ७ अप्रिल २०११ मा डेब्यू गरेका हुन् । त्यो खेल पनि एफसी च्यालेन्ज कप छनोट नै थियो । त्यही दशरथ रंगशालामा किरणले आइतबार कीर्तिमान बनाएका छन् ।
पछिल्लो समय भारतको पञ्जाब एफसीबाट खेलिरहेका किरणले क्लब फुटबलमा मछिन्द्र, थ्री स्टार, मनाङ मर्याङदी, माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट खेलेका थिए । उनले पछिल्लो समय नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेको थिए ।
नेपालका लागि दुई उपाधि जितेका छन् । २०१६ को एएफसी सोलिडारिटी कप र गत चैतमा नेपालमै सम्पन्न थ्री नेसन्सकप । नेपालले थ्री नेसन्सकप किरणकै कप्तानीमा जितेको थियो । त्यो पनि दशरथ रंगशालामै ।
२०१६ को एएफसी सोलिडारिटी कप किरणका लागि विशेष स्मरणीय रह्यो । मलेसियाको कुचिङमा सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओसविरुद्ध खेलेको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा किरणले तीन वटा पेनाल्टी बचाएपछि नेपाल ३–० ले विजयी भयो । टाइब्रेकरमा सबै प्रहार जोगाउने किरण नेपालका एक मात्र गोलकिपर हुन् ।
२०१८ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध किरणले पहिलो पटक नेपालको कप्तानी सम्हालेका हुन् । त्यसयता किरणले अहिलेसम्म १७ पटक नेपालको कप्तानी गरिसकेका छन् । जुन पूर्व गोलकिपर उपेन्द्रमान सिंहले १७ पल्ट नेपालको कप्तानी गरेको कीर्तिमानसँग बराबरी हो ।
(बाह्रखरीवाट)