वेथिति श्रृंखला-३५ : गिताचौर-रावतकोट सिंचाई आयोजना दशकौँदेखी लथालिङ्ग

मातृभूमी संवाददाता । २१ भदौ दैलेख
दैलेखको भैरवी गाउँपालिमा पर्ने गिताचौर-रावतकोट सिंचाई आयोजना ३५ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । २०४२ सालदेखी सुरु भएको उक्त सिंचाई आयोजनाको काम ३५ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको स्थानीयले वताएका छन् । यस क्षेत्रको २ सय ३५ हेक्टर खेती योग्य जमिनमा सिंचाई सुविधा पुर्‍याउने उद्देश्यले २०४२ सालदेखी सुरु गरिएको गिताचौर-रावतकोट सिंचाई आयोजनाको काम सुस्त गतिमा हुँदा निर्माण सम्पन्न नभएको स्थानीयको भनाई छ ।
२०२२ सालदेखी झण्डै १८ वर्ष लगाएर विस्तृत सर्वेक्षण गरियो । विस्तृत सर्वेक्षण पनि तयार भयो । २०४२ सालदेखी सिंचाई आयोजनाको काम सुरु भयो । तर ३५ वर्ष वितिसक्दा समेत निर्माण सम्पन्न नभएको उपभोक्ता समितिका तत्कालिन अध्यक्ष तिलक प्रसाद रिजालले वताए । पश्चिमी पहाडी भेककै ठुलो गिताचौर-रावतकोट सिंचाई आयोजनाको काम अहिले पनि लथालिंग अवस्थामा रहेको रिजालको भनाई छ ।
आयोजनाको बनेको संरचना पनि जिणर् छ । सरकारले सिचाईं डिभिजन कार्यालय मार्फत कम बजेट पठाउने, उपभोक्ता समितिले श्रमदान नगर्ने, ठेकेदारले गरेको काम अधुरा र मनपरि हुँदा योजना लथालिङ्ग अवस्थामा पुगेको रिजालले वताए ।
१४.२ किलोमिटर लम्वाई रहेको उक्त सिचाई आयोजनामा निर्माण सुरु भएको ३५ वर्षअघि ६ करोड ३१ लाख लागत स्टेमेट गरिएको थियो । अहिलेसम्म झण्डै ५ करोड वढी खर्च भईसकेको छ । अघिल्ला आर्थिक वर्षहरुमा कोरोना र बजेट अभावमा काम हुन नसकेको खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय दैलेखका प्रमुख अशोक गौतमले बताए ।
४ किलोमिटर कुलो र पाईप साइफनको काम मात्र भएको छ । खोलाबाटै पानी कुलोमा नझरेपछि दुई पटक डिजाईन गरेर परिवर्तन गरि २ सय मिटरमाथि कुलो लगिएको थियो । स्टेमेट परिवर्तन गरेर खोलादेखी कुलोमा पानी झर्न मिल्ने गरि निर्माण गरिएको उपभोक्ताहरु बताउँछन् । वर्षेनी कम बजेट विनियोजन हुुँदा यहाँका किसानहरु तिन दर्शकदेखि सिंचाईको पर्खाइमा रहेका छन् ।
निर्माण सम्बद्ध पक्षले सिंचाईका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोग, माओवादी द्धन्द्धको कारण जनाउँदै बिचमा आयोजनाको निर्माण कार्य रोकेको थियो । कामै सम्पन्न नगरि बजेट सिध्याउनलाई उपभोक्ता समिति र ठेकेदारहरुले उपभोक्ताले सहयोग नगरेको कारण देखाएपछि करिव ६ वर्ष काम रोकिएको स्थानीय बताउँछन् ।
यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ताको मिलिमतोमा ठेक्काको आधा काम गरी सम्पन्न भएको प्रतिवेदन बुझाएर भुक्तानी लिएको तर आयोजनाको काम सम्पन्न नभएको स्थानीयको गुनासो छ । आयोजनाको प्रारम्भिक चरणका कामै नगरि २०४९ देखि २०५६ सालसम्म २ करोड ९७ लाख खर्च भैसकेको जनाईएको छ ।
आयोजनाप्रति समुदायको अपनत्व बढाउने नीति अनुसार स्थानीयले शेयर लगानी गर्नुपर्ने कार्यालयले प्रस्ताव गरेपछि २०५५ सालमा रावतकोटका स्थानीयले एक लाख धरौटी समेत राखे तर सिंचाई कुलो बनेको उपभोक्ताहरुले देख्न पाएनन् । ‘खेतमा अव सिचाई सुविधा होला भनेर घरका गहरगहना, पशुचौपाया बेचेर शेयर लगानी गर्‍यौं’ उपभोक्ता समितिका तत्कालिन अध्यक्ष रिजालले भने, ‘२ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने योजना यति लामो समय विति सक्दा समेत पुरा भएको छैन् । योजनालाई सवैले दुहुनो गाई जस्तै बनाए ।’
रिजालले भने, ‘असफल योजना भनेर विभागमा फाईल थन्किएकोे थियो । आम उपभोक्ताको दबाबमा फेरी टेण्डर आव्हान गरेर आफुहरुले काम त्यतिवेला सुरु गरेको थियौं । योजना सम्पन्न हुनुपर्ने उपभोक्ताको चर्को आवाज उठेपछि २०५६ सालमा तत्कालिन जिविस बोर्डले १५ दिन श्रमशिवीर चलाएको थियो । तत्कालिन जिविस सभापती सहितका पदाधिकारीहरुले आयोजना स्थलमै पुगेर एक दिन श्रम समेत गरेका थिए । त्यस लगत्तै माओवादी द्धन्द्धको कारणले काम रोकिएको थियो ।’
निर्माण कम्पनीले अपेक्षा अनुसारको काम नगरेको उपभोक्ताले आरोप लगाएका छन् । योजनामा ६ महिनासम्म काम गरे पनि ज्याला अझै पाएका छैनन् । ज्याला नपाएको भन्दै मजदुरले आयोजनाको नाममा अदालतदेखि अख्तियारसम्म उजुरी दिएको स्थानीय मनीषा न्यौपानेले बताईन् । न्यौपानेले भनिन्, ‘सिँचाइ अभावमा बारीको उत्पादनले तीन महिना खान पुग्दैन सिँचाइ भए चार बाली उत्पादन हुन्थ्यो । अहिले आकाशेपानीको भरमा खेती गरिरहेका छौं । जीविकोपार्जनमा समस्या भएपछि पुरुषहरु मजदुरीका लागि भारत जानुपर्ने बाध्यता छ ।’
यता भैरवी गाउँपालिका अध्यक्ष प्रेम बुढाले पर्याप्त बजेट नहुँदा आयोजनाको काम अलपत्र परेको बताएका छन् । अध्यक्ष वुढाले भने, ‘माथिल्लो तहका सरकारलाई जति आग्रह गरे पनि सुन्दैनन् । हाम्रो ल्याकतले भ्याउँदैन ।’ आयोजना निर्माण हुन कम्तीमा १० करोड रुपैयाँ आवश्यक पर्ने अधयक्ष वुढाले बताए । आयोजना बनेपछि आसपासको क्षेत्र तरकारी र अन्न उत्पादनको हब बन्ने उनको भनाइ छ ।

2 thoughts on “वेथिति श्रृंखला-३५ : गिताचौर-रावतकोट सिंचाई आयोजना दशकौँदेखी लथालिङ्ग

  1. प्राविधिक र ठेकेदार कम्पनी लाई कारबाही गर।

  2. ठेकेदार कम्पनी र प्राविधिक लाई कार्रवाई गर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!