दैलेखमा ग्यास र पेट्रोल रहेको पुष्टि
मातृभूमी संवाददाता । २१ भदौ दैलेख
दैलेखमा ग्यास र पेट्रोल रहेको पुष्टि भएको छ । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदन चिनियाँ प्राविधिक टोलीलले खानी तथा भुगर्भ विभागलाई पठाएको हो ।
चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खनन्का लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताए । ‘सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो,’ उनले भने, ‘अब ढुक्कले टोली आउना साथ अन्य काम अघि बढ्छ ।’ उनले अझै पनि विज्ञ टोलीले आफ्नो देशको अनुमति पाउन नसकेको बताए । कोरोनाको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले नेपाल आउने अनुमति दिएको छैन ।
अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको भुगर्मविद् डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । ‘चार लाईनमा गरिएको सर्भेको नतिजा एकदम राम्रो आएको छ,’ भुगर्मविद् डा. त्रिपाठीले भने, ‘टोली आउनासाथ धमाधम काम सुरु हुन्छ ।’ उनका अनुसार नेपालमा कोभिड बढेको भन्दै चीनले नागरिकलाई यता आउने अनुमति दिएको छैन ।
विभागका अनुसार भनेको समयमा प्राविधिक टोली फर्केको भए आवश्यक उपकरण दुई महिनाअघि नै नेपाल आउने थियो । ‘विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला,’ भुगर्भविद् डा. रजौरेले भने, ‘कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ ।’ दैलेखका विभिन्न ठाउँमा २०७६ असोजबाट अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कणर्ाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ ।
विभागले सर्भे रिपोर्टको नतिजाका आधारमा ४ हजार मिटर तल ड्रिलिङको काम गर्ने जनाएको छ । चिनियाँ प्राविधिक टोलीको नतिजाका आधारमा दोस्रो चरणको ड्रिलिङको काम गरिने विभागले जनाएको छ । विभागका अनुसार सेस्मिक सर्भेको विश्लेषण र अन्वेषण रिपोर्टको आधामारमा ड्रिलिङ गरिने भुगर्भविद् डा. त्रिपाठीले बताए ।
चिनियाँ टोलीले दैलेखका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा विन्द्रासैनी नगरपालिकाका भू-भागलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो ।
भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएका वेला प्रधानमन्त्री भएका केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो ।
सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।