सुरक्षा शर्तकता अपनाएर विद्यालय चलाउन उत्तम
मातृभूमी संवाददाता । २३ भदौ दैलेख
सूचना प्रविधिको पहुँच नपुगेको र कक्षा कोठामै मात्र सिक्ने-सिकाउने परम्परा तोड्न नसकेको कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न नै उत्तम हुने यहाँका सरोकारवालाले एकमत जनाएका छन् ।
आज ८ सेप्टेम्वर अर्थात अन्र्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाले आयोजना गरेको ‘भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सावधानी’ विषयमा दैलेख सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय संचालन गर्नु नै उत्तम रहेको वताएका हुन् ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले हाल कोरोना संक्रमणको दर कम भएको र समाजमा स्वास्थ्य सरसफाई प्रवद्र्धन पनि बढेका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सम्भावना रहेको बताए ।
यस्तै अन्तरक्रिया कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त इकाई प्रमुख रतन बिष्टले केन्द्रले पनि स्थानीय सरकारले आफ्नो स्थानको अवस्था विश्लेषण गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने परिपत्र गरेका कारण खुलाउन चाहनेहरुलाई सहज भएको जानकारी दिए ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूहरुले भदौ १ गतेदेखि विद्यालय खुलाईसकेको, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गरिएको र आवश्यक पर्दा सेवा दिने गरी स्वास्थ्यकर्मीहरुलाई पूणर् सर्तक अवस्थामा राखेर राम्ररी कक्षा चलिरहेका अनुभव सुनाए ।
नारायण नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हर्कबहादुर नेपालीले नारायण नगरपालिकाले भदौ २७ गतेदेखि विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । उनले अनलाइन शिक्षा, रेडियो शिक्षण कार्यक्रम प्रभावकारी नभएकोले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न लागिएको स्पष्ट पारे ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाका संयोजक दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्वयू स्थायी कमिटी सदस्य हेमन्त दशौदी, नेविसंघ जिल्ला सभापति मौसम थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जीवराज तिमिल्सेना, नेपाल शिक्षक संघका सभापति कृष्णबहादुर थापा, बसन्त मावि किमुगाउँका शिक्षक रमेश खड्काले पनि विद्यालय बन्द भएकाले सिकाई उपलब्धी ह्रास भएको टिप्पणी गरे ।
कार्यक्रममा नेपाल पत्रकार संघ दैलेखका अध्यक्ष यज्ञराज थापा, दैलेख उद्योग बाणिज्य संघका सदस्य प्रकाश पौडेल, विद्यार्थी प्रतिनिधिहरु विपना रेग्मी र लक्ष्मी सदाशंकरले पनि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सावधानीको सवालमा आ-आफ्नो धारणा राखेका थिए ।
कोरोना संक्रमणको त्रासले २०७६ चैत ११ गते देशभर लकडाउन गर्न एक साता अघि नै बन्द भएका दैलेखका विद्यालयहरु २०७७ मंसिरदेखि छिटपुट रुपमा चलेपनि विद्यालयहरुले पछिल्लो पटक केन्द्र सरकारको निर्देशनमा २०७८ वैशाख १४ गतेदेखि बन्द भएका धेरै ठाउँका विद्यालयहरु अहिले पनि खुलेका छैनन् ।
सबै ठाउँमा कोरोना संक्रमणको प्रभाव त्यति नभएका कारण स्थानीय सरकारले आफ्नो ठाउँको बस्तुस्थितिको बिश्लेषण गरी जोखिम कम भएको हकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने परिपत्र गरेपछि स्थानीय तहहरुले अनुकुलतामा विद्यालय खुलाउन थालेका छन् ।
दैलेखका ११ स्थानीय तह मध्ये गुराँस गाउँपालिका र भगवतीमाई गाउँपालिकाले मात्र भदौको सुरुदेखि विद्यार्थीहरुको प्रत्यक्ष उपस्थितिमा पठनपाठन सुरु गरेको र अरु स्थानीय तहहरुले भने भदौ २७ गतेदेखि सुरु गर्ने तय गरेको आफूहरुलाई जानकारी रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।
उनले विद्यालय खुलिसकेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमन गर्ने, आवश्यकता अनुसार पृष्ठपोषण र सहयोग गर्ने, कतै कुनै समस्या आए तत्काल उद्धार तथा सहायताको तत्परता लगायतका रणनीति तयार गरी विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने योजना रहेको वताए ।