नेकपा (एकीकृत समाजवादी) कर्णालीमा कमजोर

मातृभूमी राजनितिक व्युरो । २३ भदौ दैलेख
कर्णाली प्रदेशमा नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधि मध्ये निकै न्यून संख्याले मात्रै एकीकृत समाजवादी पार्टी रोजेका छन् । समाजवादी रोजेर सनाखत गर्नेको संख्या २५ प्रतिशत मात्रै पुगेको छ ।
नेकपा (एमाले) विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई दल रोज्नका लागि यहि भदौ २२ गते सम्मको म्याद तोकेको थियो । निर्धारित अवधिभित्र कर्णाली प्रदेशबाट स्थानीय तहका तीन सय ५१ जना जनप्रतिनिधिले मात्रै एमाले त्यागेर समाजवादी रोजेका छन् । यो एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको कूल संख्याको २५ प्रतिशत हो । स्थानीय तहको निर्वाचन मार्फत कर्णालीबाट एमालेका एक हजार चार सय तीन जना निर्वाचित भएका थिए । जसमध्ये अधिकांश एमालेमै छन् ।
दैलेखमा समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या ६३ रहेको छ । ११ स्थानीय तह रहेको दैलेखमा एमालेबाट दुई सय ९० जना निर्वाचित भएका थिए । एमालेले यहाँ सात वटा पालिका प्रमुुख जितेको थियो । त्यसमध्ये भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापा र महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले एमाले छोडेका छन् । यस्तै, नारायण नगरपालिका उपप्रमुुख सावित्री मल्ल, ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह र महाबु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी वुढाले पनि एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
भैरबी गाउँपालिका ५ का वडा सदस्य बिष्णुप्रसाद जैसीले नेकपा एकीकृत समाजवादीलाई गरेको समर्थन फिर्ता लिएका छन् । यसअघि उनले एमाले छोडेर समाजवादीमा सनाखत गरेका थिए । तर उनले अन्तिम समयमा आएर आफुले गरेको समर्थन फिर्ता लिएका हुन् ।
एमाले छोडर समाजवादी रोज्नेमा सबैभन्दा बढी सल्यानबाट ७६ जना छन् । उक्त जिल्लामा एमालेका एक सय ४५ जना निर्वाचित भएका थिए, जसमध्ये ७६ जना समाजवादीमा लागेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसअघि नै समाजवादीको पक्षमा हस्ताक्षर गरेका दुई जनाले भने सनाखत फिर्ता गरी पाउँ भनी निवेदन दिएको निमित्त निर्वाचन अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिए । उनका अनुसार सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने र कपुरकोट गाउँपालिकाकी उपप्रमुख तिला बुढा सहित १७ जना वडा अध्यक्ष र ५७ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका छन् ।
यस्तै सुर्खेतमा समाजवादी रोज्ने १५ जना मात्रै छन् । जिल्लामा एमालेबाट दुई सय १६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । एमालेले जितेको तीन वटा स्थानीय तहका प्रमुख र चार जना उपप्रमुख मध्ये कसैले पनि एकीकृत समाजवादी रोजेनन् । वीरेन्द्रनगर-८ का वडा अध्यक्ष थम्मप्रसाद गौतम, १० का वडा अध्यक्ष रत्नबहादुर बुढा र १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेले एकीकृत समाजवादी रोजेका छन् । जिल्लाकै पञ्चपुुरी नगरपालिका ७ का वडा अध्यक्ष रतन बिसी र चौकुने गाउँपालिकाका-१ का वडा अध्यक्ष लक्षीराम आले मगरले पनि समाजवादीमा सनाखत गरेका छन् ।
यस्तै, कालीकोटमा स्थानीय तहका ६५ जना जनप्रतिनिधिले समाजवादीका पक्षमा सनाखत गरेका छन् । उक्त जिल्लामा एमालेबाट एक सय ३० जना जनप्रतिनिधि निर्वाचित भएका थिए । शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाई, उपाध्यक्ष पम्फाकुमारी शाही, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले एककीकृत समाजवादी रोजेका हुन् ।
कालिकोट कै खाडाचक्र नगरपालिकाका उपप्रमुुख विजया विष्ट सहित १४ जना वडा अध्यक्षले पनि समाजवादीमा सनाखत गरेका छन् । स्थानीय तहको निर्वाचनमा कालीकोटमा एमालेले दुई वटा गाउँपालिका अध्यक्ष, एक नगर प्रमुख र दुई उपाध्यक्ष जितेको थियो ।
यसैगरी, हुम्लामा जिल्ला समन्वय समिति प्रमुख र चार जना वडा सदस्य एकीकृत समाजवादीमा लागेका छन् । उनीहरूले एमाले त्यागेर समाजवादीका पक्षमा सनाखत गरेका हुन् । हुम्लामा स्थानीय तहको निर्वाचनमा एक पालिकामा अध्यक्ष र उपाध्यक्ष सहित १७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
त्यस्तै, डोल्पामा एमालेबाट दुई सय २२ जना निर्वाचित भएकोेमा ४२ जनाले नवगठित एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार ठूलीभेरी नगरपालिका डोल्पाका प्रमुख गणेशबहादुर शाहीसहित आठ जना वडा अध्यक्ष र १८ जना सदस्यले समाजवादीका पक्षमा सनाखत गरेका हुन् । त्यस्तै, जिल्ला समन्वय समितिका चार जना सदस्य, दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य पाँच जनाले समाजवादी रोजेका छन् ।
रुकुम-पश्चिममा एमालेबाट निर्वाचित ११ मध्ये तीन जना मात्रै एकीकृत समाजवादीमा लागेका छन् । जसमा एक जना वडा अध्यक्ष, दुई जना सदस्यले उक्त पार्टीको पक्षमा सनाखत गरेका हुन् ।
यस्तै, मुगुमा एमालेबाट निर्वाचित एक सय २५ जना जनप्रतिनिधि मध्ये २८ जनाले एकीकृत समाजवादी रोजेका छन् । जाजरकोटमा १० जना स्थानीय तहका जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको त्यहाँस्थित निर्वाचन कार्यालयले जनाएको छ ।
जुम्लामा एमालेबाट निर्वाचित ९५ जना जनप्रतिनिधिमध्ये ४४ जनाले एकीकृत समाजवादी रोजेका छन् । एक जना उपप्रमुख, ११ वडा अध्यक्ष र ३२ जना वडा सदस्यले समाजवादीमा सनाखत गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार सिंजा गाउँपालिकाकी उपप्रमुख जन्मकन्या खत्रीले समाजवादीमा सनाखत गरेकी हुन् ।
कर्णाली प्रदेशसभाका तीन जना सांसदले पनि यसअघि नै नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । पार्टी विभाजन भएसँगै उनीहरूले समाजवादीको पक्षमा सनाखत गरेका हुन् । मुगुका सांसद चन्द्रबहादुर शाही, जुम्लाका सांसद पदमबहादुर रोकाया र रुकुम-पश्चिमकी सांसद देवी ओली एमाले छाडेर समाजवादीमा लागेका हुन् । एमाले आधिकारिक रूपमै विभाजन भएपछि यही भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।
सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेशले नयाँ दल गठन भएको २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था गरेको थियो । सोही अनुसार विभाजित भएको पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले कुन दलमा बस्ने भन्नेबारे छान्नका लागी यहि भदौ २२ गते सम्मको समय तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *