पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको १०८ औँ जन्मजयन्ती मनाइदै
मातृभूमी राजनितिक व्युराे । २४ भदाै काठमाण्डाै
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (विपि) कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी विहिवार देशभर मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । निर्वासनमै विपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न २००३ सालमा विपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।
प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुईतिहाई वहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।