आज ऋषिपञ्चमी : अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाईंदै

मातृभूमी संवाददाता । २६ भदाै दैलेख
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी शनिवनर नेपाली नारीले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । नारीहरूले शनिवनर बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।
ऋषिपञ्चमीका दिन स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । दैलेखका काेटिला, श्रीस्थान, नाभिस्थान लगाएतका मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछ ।