दैलेखमा अलैँची उत्पादनमा वृद्धि
मातृभूमी संवाददाता । २८ भदौ दैलेख
पछिल्लो समय दैलेखमा अलैँची खेतीको व्यवसाय वढ्दै गएको छ । कृषकहरुले व्यवसायिक रुपमा अलैँची खेती सुरु गरेसँगै उत्पादनमा वृद्धि हुँदै गएको हो । दैलेखका विभिन्न भू-भागमा लगाएको अलैँचीको उत्पादन वढ्दै गएपछि कृषकको आकर्षण पनि अलैँची खेतीमा उत्तिकै वढेको छ ।
गत वर्ष मात्रै दैलेखका विभिन्न स्थानीय तहवाट झण्डै एक करोड वढीको अलैँची निर्यात गरिएको भएपनि यस वर्ष उत्पादन अनुसार दैलेखमा झण्डै अढाई करोड वढीको अलैँची निर्यात गर्ने तयारी गरिएको जनाईएको छ । अलैँची उत्पादनको राम्रो सम्भावना रहेका दैलेखको नौमूले, गुराँस, भगवतीमाई, महावु, डुङ्गेश्वर र भैरवी गाउँपालिकाकामा कृषकहरुले अलैँची खेती गर्दै आएका छन् । कृषकले उत्पादन गरेको अलैँचीको उत्पादन निकै राम्रो भएकाले यो वर्ष दैलेखका ६ स्थानीय तहवाट २ करोड ५० लाख वरावरको अलैँची निर्यात गर्ने तयारी गरिएको छ ।
विगतमा घरका आगनमा रहरले अलैँचीका विरुवा लगाउने गरेको भएपनि यसको वजारीकरण राम्रो भएकाले कृषहरु अहिले व्यवसायीक रुपमा अलैँची खेतीतर्फ आर्कषित भएका छन् । अलैँची व्यवसायवाट राम्रो आम्दानी हुने भएकाले व्यवसायीक रुपमा अलैँची खेतीको सुरुवात गरेको नौमूले गाउँपालिका ५ की हिरा वुढाले वताइन् । ‘पहिला कस्तो हुने रहेछ विचार गर्नु पर्यो भनेर एक-दुई वुटा घर आगनमा रहरले रोपेको थिए’ उनले भनिन्, ‘अहिले यसको माग तथा आम्दानी राम्रो भएकाले व्यवसायीक रुपमा खेती गरेको छु ।’
नौमूले गाउँपालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको साझेदारीमा नौमूलेका विभिन्न स्थानमा अलैँची खेती गरिएको नौमूले गाउँपालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत अधिकृत लोकबहादुर बोगटीले वताए । उनका अनुसार व्यवसयीक रुपमा अलैँची खेती गरिरहेका कृषक समुहलाई यसै वर्ष अलैँची सुकाउने भट्टी वितरण गरिने कार्यक्रम रहेको छ ।
नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढाले नौमूले गाउँपालिकाका अधिकांश स्थानमा अलैँची खेतीको राम्रो सम्भावना भएकाले कृषकलाई अलैँची खेतीमा आत्मर्निभर वनाउन गाउँपालिकाले कृषि क्षेत्रमा चासो दिएको वताए । कृषकलाई व्यवसायीक रुपमा जागरुक वनाउन गाउँपालिकाले कृषि क्षेत्रमा विशेष वजेट विनियोजन गरेको अध्यक्ष वुढाको भनाई छ ।
कृषि विकास कार्यालय, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना, जिल्ला स्थीत विभिन्न सहकारी तथा संघसंस्था मार्फत स्वंय कृषकहरुले व्यक्तिगत रुपमा लगाएका अलैँचीका विरुवाले यो वर्ष दिने सम्भावित उत्पादनको आँकडा गर्दा २ करोड ५० लाख वढीको अलैँची निर्यात गर्न सकिने ग्रामिण जलास्रोत व्यवस्थापन परियोजना दैलेखका सल्लाहकार हरी सापकोटाले वताए । यहाँका विभिन्न स्थानीय तहका कृषि शाखा प्रमुखहरु, अलैँची उत्पादक किसानहरुको संयुक्त छलफलवाट झण्डै २ करोड ५० लाख वरावरको अलैँची उत्पादन हुने तथ्यांक निकालिएको सापकोटाले जानकारी दिए । अलैँची उत्पादनमा देखिएका समस्या समाधानका उपाय र वजारीकरणका लागी परियोजनाले सरोकारवालासँग छलफल गरेको छ । दैलेखका ६ स्थानीय तहमा करिब २ हजार ४ सय ७६ हेक्टर जमिनमा अलैंची खेती गरीएको छ । दैलेखमा अलैंचीको खेती विस्तार गरी ३ हजार ७ सय ८ हेक्टर जमिनमा अलैंची खेती गर्न सकिने सम्भावना रहेको कृषि विज्ञहरु वताउँछन् ।
स्थानीय तहले अलैँची उत्पादनलाई अभियानकै रुपमा लिन सके किसानहरुले घरमै वसेर लाखौँ आम्दानी लिन सक्ने सारेकारवालाको निष्कर्ष छ । किसानहरुले उत्पादन गरेका अलैँचीहरु अहिले घरवाटै प्रति किलो ७ सय रुपैयाँसम्म विक्री भैरहेको कृषकहरुको भनाई छ । जिल्लामा उत्पादित अलैँचीलाई प्याकेजिङ र व्राण्डिङ्ग गर्न स्थानीय तहले सहयोग गरे वार्षिक लाखौँ आम्दानी लिन सकिने नौमुले गाउँपालिका ५ गुराँसेका कृषकले वताए ।