नारायणकाे सडक मर्मत गर्दै नौमूले

मातृभूमी संवाददाता । ०६ असोज दैलेख
नौमूले गाउँपालिकाले प्रत्येक वर्षझै यस वर्ष पनि नारायण नगरपालिका क्षेत्रको सडक मर्मत गर्न शुरु गरेको छ । चाडपर्वका वेला आफ्ना नागरिकले यात्रा गर्दा निकै कठिनाई वेहोर्ने गरेकाले यस वर्ष पनि दैलेख-नौमूले सडक खण्ड अन्तरगत नगर क्षेत्रको सडक मर्मत गर्न लागेको गाउँपालिकाले जनाएको छ । वर्षा सकियसँगै चाडपर्वलाई लक्षित गर्दै नौमूले गाउँपालिकाका वडा लगाएत मुख्य सडकहरु मर्मत गर्ने कामलाई तिव्रता दिएको गाउँपालिकाले नगर क्षेत्रको सडक मर्मत गर्न शुरु गरेको हो ।
गाउँपालिकाले चाड पर्व नजिकिदै गर्दा स्थानीयको आवत-जावतलाई मध्य नजर गर्दै दैलेख-नौमूले सडक अन्तरगत भैसेखोर-तामे सडक खण्ड मर्मत गर्न शुरु गरेको जनाईएको छ । सडक मर्मतका लागी नौमूले गाउँपालिकाले आफ्नो लगानीमा डोजर र दुई वाट ट्याक्टर पठाएको जनाएको छ ।
दैलेख सदरमुकामदेखि नौमूलेसम्मको सडक खण्ड अन्तरगत गाउँपालिकाले नौमूले तामे सडकलाई मर्मत गरेपनि नगरपालिका क्षेत्र भित्रको भैसेखोरदेखि तामेसम्मको सडक नाजुक हुदा यात्रुले सास्ती खेप्नु परेको छ । सदरमुकामदेखि नौमूले आवत-जावत गर्ने यात्रुले नगरपालिकाको सडक खण्डमा सास्ती भोग्नु परेपछि यस वर्ष पनि नौमूले गाउँपालिकाले नगरको सडक मर्मत गर्न थालेको हो ।
दैलेख सदरमुकामदेखि नौमूले सडक खण्डको सेतो पहिरोमा गतवर्ष ठुलो पहिरो गएपछि उक्त सडक विगत एक वर्षदेखि अवरुद्ध भएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए । उक्त सडक खण्ड अवरुद्ध भएपछि त्यस विषयमा नगरपालिका लगाएत विभिन्न निकायमा जानकारी गराउँदा समेत मर्मत गर्न कसैले सुनुवाई नगरेपछि विकल्पको रुपमा गाउँपालिकाले भैसेखोर सडकलाई मर्मत गर्न लागेको अध्यक्ष वुढाको भनाई छ ।
‘नारायण नगरपालिकाको भैसेखोर हुदै साना सवारी साधन चल्ने गरेपनि त्यस खडमा ठुला सवारी साधन जान मुस्कील पर्छ’ अध्यक्ष वुढाले भने, ‘चाड पर्व नजिकिएकाले व्यापारी, अन्य वाहिरी मुलुकवाट आउने नौमूलेवासीको समस्यालाई ख्याल गर्दै हामिले नगरपालिका क्षेत्रको सडक मर्मत गर्न लागेका हौं ।’ जोखिम मोलेर सवारी साधन गुडि रहेको भन्दै गाउँपालिकाले भैसेखोर वजारदेखि तामेखोलासम्म सडक मर्मत कार्य सुरु गरेको अध्यक्ष वुढाले वताए ।
नौमूले गाउँपालिकाले गत वर्ष पनि नगर क्षेत्रको भैसेखोर-तामे सडक खण्डमा लाखौँ रकमको लागतमा सडक मर्मत गरेको थियो । नारायण नगरपालिकाले दैलेख तामे सडक खण्डमा विगत देखिनै चासो नदिदा नगरपालिकाका ५ र ४ नं. वडावासीले समेत सास्ती भोग्नुपर्ने वाध्यता अहिले पनि कायमै रहेको छ । नगरले यो सडकमा चासो नदिदा नारायण नगरका केही वडाका नागरिकहरु लगायत नौमूलेवासीले समेत ठूलो सास्ती खेप्नु परेको नारायण नगरपालिका वडा नं. ५ का स्थानीयको भनाई छ ।
‘चाड पर्व नजिकिएसँगै ठुला मालवहाक गाडी नौमूले पुग्न नसक्दा उपभोक्ताले मंहगीको मारमा परेका छन् । सडक मर्मत गरेर मालवहाक गाडी नौमूले सहज रुपमा पुग्न सकिने गरी सडक मर्मत गरिने छ । त्यति मात्रै हैन नौमूलेवासीले ढुक्कसंग यात्रा गर्न सकुन् भन्दै यो सडकलाई मर्मत गर्न लागेका हौं’ अध्यक्ष वुढाले भने, ‘यो सडक मर्मत भएसँगै नौमूले क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रमा आन्तरिक पर्यटकको पनि चहल-पहल हुन्छ ।’
नौमूले गाउँपालिकाले पालिकाभरीका शाखा सडकको मर्मतसँगै सदरमुकाम-तामे सडक पनि मर्मत गर्न शुरु गरेको नौमूले गाउँपालिका दैलेखका उपाध्यक्ष अमृता सिंहले वताईन् । नौमूले क्षेत्रका नागरिकले लामो समयदेखी यात्रामा कठिनाई भोग्नु परेको कुरालाई मध्यनजर गर्दै सदरमुकाम-तामे सडक मर्मत गर्न शुरु गरेको उपाध्यक्ष सिंहको भनाई छ ।
नारायण नगरपालिकाले सदरमुकाम-तामे सडक मर्मतमा चासो नदिएका कारण नौमूले गाउँपालिकाले नै वर्षेनी यस सडक खण्डको मर्मत गर्दै आईरहेको छ । उपाध्यक्ष सिंहले भनिन्, ‘चाड पर्वका वेला आफ्नो गाउँपालिकाका नागरिकले सास्ती भोग्न नपरोस् भनेर सडक मर्मत गर्ने निणर्य गरिएको हो । नगरपालिकाले सडक मर्मतमा चासो नदिदाँ नौमूलेवासीले ठुलो दुःख पाएका छन् ।’
दैलेख-नौमूले सडक निर्माण भएको दुई दशक भन्दा वढि भैसकेको छ । सडक निर्माण भएको यतिका वर्ष वितिसक्दा समेत स्तरोन्नती नहुँदा झन-झन नाजुक वन्दै गएको छ । दैलेख-नौमूले सडक खण्ड अन्तरगत नौमूले क्षेत्रको तामे-नौमूले सडकको स्तरोन्नती भएपनि नगरपालिकाको सदरमुकाम-तामे सडकको स्तरोन्नती हुन नसकेको यस क्षेत्रमा लामो समयदेखी जिप चलाउँदै आएका चालक भिम थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *