दैलेखका डिएसपी श्रेष्ठलाई कदरपत्र प्रदान
मातृभूमी संवाददाता । ०८ असोज दैलेख
फैसला कार्यान्वयनको काममा उल्लेख्य काम गरेको भन्दै जिल्ला अदालत दलेखले दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठलाई कदरपत्र दिएको छ । शुक्रवार भएको जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकको अवसरमा दैलेखका जिल्ला न्यायधीश दण्डपाणी लामिछानेले कदरपत्र प्रदान गरेका हुन् ।
दैलेख अदालतले कैद तथा जरिवाना फैसला गरेका अभियुक्तहरुलाई पक्राऊ गरी बाँकी कैद र जरिवाना असुलीमा अघिल्लो आर्थिक वर्ष मात्र ६६ जनालाई पक्राऊ गरेकोमा कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि जिल्ला प्रहरी कार्यालय दैलेखलाई प्रदेशकै उत्कृष्ठ जिल्लाको पुरस्कार दिएको थियो ।
बैठकका अवसरमा जिल्ला न्यायधीश लामिछानेले अपराध रोकथाम र न्याय निरुपणमा सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताए । न्यायधीश लामिछानेले स्थानीय सरकार, प्रहरी-प्रशासन र नागरिक समाजको तत्परताले मात्र समाजमा शान्ति, सुव्यवस्था कायम हुन सक्ने धारणा राखे ।
जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्यहरु मालपोत अधिकृत बालकृष्ण राना, जिल्ला समन्वय अधिकारी बावुराम नेपाली, दैलेख कारागारका जेलर जीतबहादुर केसी र दैलेख अदालतका बाल मनोविज्ञ अमर सुनारले पनि न्याय प्रशासनका कामको प्रभावकारिता विषयमा आ-आफ्ना सुझाव राखेका थिए ।
वैठकमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि घिमिरे, दैलेख जिल्ला अदालतका श्रेस्तेदार अधिकृत इन्द्रबहादुर कार्की, नेपाल बार एशोसियसन दैलेखका अध्यक्ष माधवराज अधिकारी, नागरिक समाजका अध्यक्ष अधिवक्ता खड्गबहादुर सिजापति समेतको बैठकमा सहभागिता रहेको थियो ।