दिउँसै स्वास्थ्य संस्था वन्द हुँदा सेवाग्राही मर्कामा
मातृभूमी संवाददाता । १२ असोज दैलेख
नारायण नगरपालिका वडा नंं. १ को कुइकानामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र २ वजे नै वन्द गर्ने गरेको पाईएको छ । कर्मचारीले २ बजे नै स्वास्थ्य सेवा केन्द्र बन्द गर्ने गरेका कारण सेवाग्राहीलाई मर्का परेको उनीहरुले गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रमले मंगलवार स्वास्थ्य केन्द्रमै सेवाग्राही र सेवाप्रदायक बीच गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय मीना नेपालीले दिउँसो २ बजे नै स्वास्थ्यकर्मी फर्किने गरेका कारण सेवाग्राहीले सेवा पाउनवाट वन्चित हुनु परेको वताईन् ।
कुइकाना आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको एक वर्षको अवधिमा आधुनिक भवन भएपनि औषधि अभावले सेवाग्राही जिल्ला अस्पताल वा जिल्ला सदरमुकाममा रहेका प्राईभेट मेडिकलमा जानुपरेको स्थानीय तुलसी कार्कीले बताईन् ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रप्रति विश्वास जगाउन नगरपालिकाले प्रयाप्त औषधि व्यवस्था र सुरक्षित सुत्केरी सेवा सञ्चालनमा तत्परता देखाउनु पर्ने स्थानीय कार्कीले सुझाव दिईन् ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिंदै आधारभूत स्वास्थ्य सेवा केन्द्रका अनमी पुष्पा थापाले सीमित साधन श्रोतमा सेवा प्रभावकारी बनाउने प्रयत्न गरिरहेको र प्राप्त सुझावका आधारमा सेवालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता जनाईन् ।
नारायण नगरपालिका १ का वडासदस्य सन्तकुमारी रामजाली, नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष रेखा थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, इएलपी परियोजनाका जिल्ला सहजकर्ता सीता बुढाले स्वास्थ्य सेवा प्रभावकारिता र मानव अधिकारको सवालका विषयमा आफ्नो भनाई राखेका थिए ।