दैलेखको गुराँस अस्पताललाई आइसियु बेड सहयोग

मातृभूमी संवाददाता । १३ असोज दैलेख
दैलेखको गुराँस गाउँपालिकामा रहेको गुराँस अस्पताललाई आइसियु बेड सहयोग गरीएको छ । गुराँस गाउँपालिकाले तीन बर्षअघि रानीमत्तामा सञ्चालनमा ल्याएको अस्पताललाई आइसियु बेड सहितको सामग्री सहयोग गरिएको हो । सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालित सहयात्रा-दोस्रो परियोजनाले अस्पताललाई दुई वटा आइसियु बेड सहितको समाग्री उपलब्ध गराएको हो ।
आइसियु बेड सहयोग प्राप्त भएपछि गुराँसका नागरिकलाई उपचार सेवा प्रदान गर्न सहज हुने जनाईएको छ । अस्पताललाई आइसियु बेड सहित अन्य सामग्रीहरु समेत उपलब्ध गराएको सोसेकका कार्यक्रम निर्देशक नवराज बिसीले जानकारी दिए ।
उनका अनुसार गुराँस गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयहरु, बाल विकास केन्द्रहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु तथा गुराँस अस्पतालका लागि १५ लाख ५ हजार बराबरको स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु समेत सहयोग गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सामग्रीहरु सहयोग गरिएको निर्देशक बिसीले बताए ।
‘लामो समयदेखि बन्द रहेका विद्यालयहरु हालै सञ्चालनमा आएको छ,’ बिसीले भने ‘विद्यालय पुःन सञ्चालनमा आएको अवस्थामा विद्यालयले पुरा गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई मध्यनजर गर्दै विद्यालयहरुलाई पनि सामग्री सहयोग गरिएको हो ।’
उनका अनुसार दश हजार यूनिट वाटर क्लोरिन, तीन सय वटा पलाष्टिक बाल्टि, एक हजार २ सय ५० वटा साबुन, तीन सय वटा टावेल, तीन सय वटा पलाष्टिक जग, एक हजार वटा टुथपेस्ट, आठ हजार टुथ ब्रस, पाँच सय वटा सेनेटरी नैपकिन, ८० वटा जीप ब्याग, एक सय ४५ वटा पल्स अक्सिमिटर वितरण गरिएको छ ।
यसैगरी एक लाख थान सर्जिकल मास्क, तीन हजार थान ग्लोब्स, तिन सय थान फेस सिल्ड, पाँच सय एमएलको एक हजार दुई सय ५० बोटल र हजार एमएलको दुई सय बोटल ह्याण्ड सेनीटाइजर वितरण गरिएको बताईएको छ ।