लाँकुरीका १ सय १८ घरमा खानेपानीको सुविधा पुर्‍याने

मातृभूमी संवाददाता । १३ असोज दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ का एक सय १८ घरधुरीमा शुद्ध खानेपानीको सुविधा पुर्‍याईने भएको छ । डुङ्गेश्वर गाउँपालिका २ स्थित त्रिकुले, गोगनपानी, देउली बजार, असुरेनी र सेर्माकोट (थापाटोल) मा खानेपानी सुविधा पुर्‍याइने भएको हो । हेल्भेटास नेपाल र डुङ्गेश्वर गाउँपालिकाको आर्थिक सहयोगमा खानेपानी योजना बन्न लागेको जनाईएको छ ।
सोसेक नेपालको सामाजिक तथा प्राविधिक सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम मार्फत कुईयाँ देउली खानेपानी तथा सरसफाई योजना सञ्चालन हुने कार्यक्रमका फिल्ड प्राविधिक जयबहादुर विष्टले जानकारी दिए । झण्डै ८२ लाख रुपैयाँको लागतमा बन्न लागेको खानेपानी तथा सरसफाई योजनाबाट एक सय १८ घरधुरीमा घरैपिच्छे खानेपानीको धारा निर्माण गरिने फिल्ड प्राविधिक विष्टले बताए । विष्टका अनुसार योजना निर्माणको काम छिट्टै सुरु हुनेछ ।
पर्यटकीय हिसाबले प्रख्यात रहेको कुईया क्षेत्रबाट ल्याईएको पानी त्रिकुले, गोगनपानी, देउली बजार, असुरेनी र सेर्माकोट (थापाटोल) मा पुर्‍याउने योजना रहेको विष्टले बताए । यो योजना निर्माण सम्पन्न भएसँगै वडामा ८५ प्रतिशत घरमा ‘एक घर एक धारा’ बन्ने डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष राजु कुमार खत्रीले बताए ।
योजना निर्माणका लागि बुधवार उपभोक्ता समिति समेत गठन गरिएको छ । टंक बहादुर वलीको अध्यक्षता गठित समितिको उपाध्यक्षमा रेशम बहादुर नेपाली, सचिवमा कृष्णबहादुर थापा, कोषाध्यक्षमा गिता खड्का थापा तथा सदस्यहरुमा पदम विक, विष्णा विक, नन्दकली विष्ट, बिमला नेपाली, याम बहादुर गुरुङ्ग, सन्तोष वली र पार्वती खत्री सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *