दैलेखकी बालिकाको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु, पिडित पक्ष आन्दोलित
मातृभूमी संवाददाता । २३ असाेज दैलेख
कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । बालिका मृत्यु भएको विषयमा उचित छानविनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो । दैलेखको नारायण नगरपालिका ४ की पूजा कटुवालकी साढे २ वर्षकी छोरी (बालिका) कुसुम कटुवालको गएराती प्रदेश अस्पतालमा मृत्यु भएको थियो । खासै समस्या नभएकी उनको एक्कासि कसरी मृत्यु भयो पीडित परिवारले प्रश्न गरेका छन् । उनीहरुले घटनाको उचित छानविन हुनुपर्ने माग समेत गरेका छन् ।
पीडित पक्षले ओभरडोज औषधिका कारण बालिकाको मृत्यु भएको दावी गरेको छ । बालिकाकी आमा पूजाका अनुसार कुसुमको चार दिन अगाडि नाकमा मकैको दाना अड्केको थियो । अलिकति श्वास फेर्न गाह्रो बाहेक अन्य कुनै समस्या थिएन,’ उनले भनिन्, ‘पछि समस्या आउँछकि भनेर दैलेख अस्पताल ल्याएका थियौं । जिल्ला अस्पताल दैलेखका स्वास्थ्यकर्मीले प्रदेश अस्पतालमा सहज उपचार हुने भनेर लैजान सल्लाह दिएपछि हामीले यहाँ ल्याएका थियौं ।’
शुक्रबार बिहानै प्रदेश अस्पतालका एक डाक्टरले बालिकाको स्वास्थ्य अवस्था चेकजाँच गरेका थिए । ती डाक्टरले श्वास नलीमा समस्या आएको र प्रदेश अस्पतालमा आइसीयु खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान सुझाएका थिए । उनी भन्छिन्, ‘ती डाक्टरले हामीलाई त्यति मात्र भनेनन् बेड खाली भए यतै राखौँला भनेर समेत भनेका थिए । सोही आशामा हामीले यतै राख्यौं । तर, एक्कासि राती १० बजे डाक्टरहरुले मृत्यु भएको जानकारी गराए ।’ उनले अचम्म मान्दै प्रश्न गरिन्, ‘स्वास्थ्यमा कुनै समस्या नै नभएकी मेरी छोरीको कसरी मृत्यु भयो ? यो स्वास्थ्यकर्मीहरुको चरम लापरबाही हो ।’
यता प्रदेश अस्पतालका प्रवक्ता डाक्टर विकास केसीले श्वासप्रश्वासका कारण बालिकाको मृत्यु भएको बताए । अस्पतालबाट लापरबाही र हेलचेक्र्यााई कुनै भएको छैन,’ उनले भने, ‘उहाँहरुले आरोप लगाउने न हो । बिहान दुबै पक्षबीच छलफल भएको हो । अब उहाँहरुलाई चित्त बुझ्दैन भने प्रशासन मै जानुहुन्छ ।’