सुर्खेतमा बम विष्फोट हुँदा दिदी र भाइ घाइते

मातृभूमी संवाददाता । ०६ कार्तिक सुर्खेत

सुर्खेतमा बेवारिसे बम विष्फोट भएको छ । विष्फोटमा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरको वडा नं. ७ मा रहेको कटकुवा सामुदायिक वनमा शनिबार बिहान उक्त बम विष्फोट भएको हो ।

विष्फोटमा परी वनमा घाँस काट्न गएका एक घरका दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार विष्फोटमा घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका ६ का लिला नेपाली र नरेश नेपाली रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठका अनुसार घाइते हुने लिला दिदी हुन् भने नरेश उनका भाइ हुन् । उनीहरुको अहिले वीरेन्द्रनगरमा रहेको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले सशस्त्र द्वन्द्वका बेलामा तत्कालीन माओवादीले छाडेको बम अहिले विष्फोट भएको आशंका गरेको छ । प्रहरीका अनुसार घाइते दुबै जनाको अवस्था अहिले सामान्य छ । दैलेख घर भए पनि हाल वीरेन्द्रनगर ७ इत्राममा बस्दै आएका उनीहरु शनिबार बिहान घाँस लिन बनमा गएका थिए । त्यही क्रममा बेवारिसे अवस्थामा रहेको बमलाई उनीहरुको खुट्टाले छुँदा विष्फोट भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *