कर्णालीका ८० सरकारी कार्यालय निमित्तको भरमा

मातृभूमी संवाददाता । ०६ कार्तिक दैलेख
कर्णालीमा प्रदेश सरकार मातहतका ८० वटा कार्यालय निमित्तको भरमा छन् । माथिल्लो तहका कर्मचारी कर्णाली आउन नमान्दा अधिकांश कार्यालय निमित्तको भरमा भएका हुन् । माथिल्ला तहका कर्मचारी नभएको फाइदा उठाउँदै केही कनिष्ठ कर्मचारीले पनि निमित्तको जिम्मेवारी लिइरहेका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छैटौं तहका अधिकृत मोहन गिरीलाई पशुपक्षी विकास निर्देशनालयको जिम्मेवारी दिएको छ । तर निर्देशनालयमा ११ औं तहका अधिकृतको दरबन्दी छ । निर्देशनालय मातहतका अधिकांश पशु सेवा कार्यालयमा आठौं तहको कार्यालय प्रमुख छन् ।
तर निर्देशनालयको जिम्मेवारी छैटौं तहका अधिकृतलाई दिइएको छ । दैलेखमा नवौं र दसौं तहका कर्मचारीले प्रमुखको जिम्मेवारी पाउनु पर्ने हो । आठौं तहका प्रचण्ड खड्का २ वर्षदेखि कामविहीन छन् भने छैटौं तहका अधिकृत भीम विष्टलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
कर्णाली प्रदेशकै योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश सुशासन केन्द्रमा संगठनात्मक ढाँचा तथा दरबन्दी अनुसारका प्रमुख छैनन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका १९ कार्यालय निमित्तको भरमा छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतका २१ कार्यालय पनि कनिष्ठ कर्मचारीले चलाएका छन् ।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयका १० र सामजिक विकास मन्त्रालयका १९ वटा कार्यालयमा दरबन्दी अनुसारका प्रमुख छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालय अन्र्तगतका लेखा नियन्त्रण इकाई पनि एक/दुई जना कर्मचारीको भरमा छन् ।
प्रदेश सरकार मातहत अहिले ८ मन्त्रालय छन् भने मन्त्रालय मातहत १ सय ११ कार्यालय छन् । त्यस्तै कर्णाली प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश सुशासन केन्द्र, मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेशसभा सचिवालयलाई पनि प्रदेश सरकार मातहत छ ।
ऊर्जा विकास तथा सिँचाइ मन्त्रालय पनि निमित्तको भरमा चलिरहेको छ । सामजिक विकास मन्त्रालय अन्र्तगतका ९ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र सुर्खेतमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापनाको क्रममा छ । योसँगै अब प्रदेशमा १ सय ३४ वटा कार्यालय हुनेछन् ।
नवौं र दसौं तहको दरबन्दी भएका कृषि विकास कार्यालय जाजरकोट, सल्यान, जुम्ला, दैलेख र कालीकोटमा अधिकृतस्तरका सातौं र आठौं तहका कर्मचारीले चलाइरहेका छन् । त्यसैगरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास निर्देशनालयमा एघारौं तहको प्रमुखको दरबन्दी भए पनि आठौं तहका कर्मचारीले चलाइरहेका छन् ।
नवौं र दसौं तहका प्रमुख हुने पूर्वाधार विकास कार्यालय सल्यान, दैलेख र जुम्लामा सातौं तहका कर्मचारीलाई निमित्त प्रमुख तोकिएको छ । पहुँचको भरमा कनिष्ठलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइँदा त्यसको असर सेवा प्रवाहमा परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उपसचिवले बताए ।
‘दरबन्दी अनुसारका कर्मचारी नहुँदा उपलब्ध कर्मचारी मध्येबाट सिनियरलाई निमित्त प्रमुख बनाउनुपर्छ,’ उनले भने, ‘तर कर्मचारीको मनोबल कमजोर हुने गरी केही निर्देशनालय र कार्यालयमा कनिष्ठले प्रमुखको जिम्मेवारी पाएका छन् ।’

(कान्तिपुरवाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *