कर्णालीको सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसकाे चेतावनी
मातृभूमी राजनितिक व्यरो । ०९ कात्तिक सुर्खेत
पूर्वसहमति अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिए नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । कांग्रेस कर्णाली प्रदेशसभाका सचेतक हिमबहादुर शाहीले सहमति अनुसार मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए । यदी नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी उनले दिए ।
‘हामीले मुख्यमन्त्रीसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका थियौं’ उनले भने, ‘यदी माओवादीले कार्तिक १५ गतेभित्र सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’ माओवादी पूर्वसहमतिबाट पछाडि हटेमा मन्त्रीबाट राजीनामा दिएर समर्थन फिर्ता लिने चेतावनी शाहीले दिए ।
नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई नै पूरा कार्यकाल निरन्तरता दिने निणर्य गरेको छ । शनिवार सम्पन्न कर्णाली प्रदेशको विस्तारित बैठकले तत्काल प्रदेश सरकार नछाड्ने निणर्य गरेको थियो । माओवादीको कणर्ाली प्रदेश कमिटी अन्य प्रदेश सरकार छाडेर भएपनि कर्णाली सरकार जोगाउने पक्षमा उभिएको छ ।
तर कांग्रेसले भने आलोपालो सरकार चलाउने सहमति कार्यान्वयन हुनुपर्ने अडान लिएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन
फिर्ता लिएपछि मुख्यमन्त्री
महेन्द्र बहादुर शाहीले आधा कार्यकाल नेपाली कांग्रेसलाई छोड्ने सहमति गरेका थिए । यद्यपि माओवादीले अहिले केन्द्रबाटै गठबन्धन सरकार निर्माण भएकाले पुनः नयाँ तरिकाले सहमति गरेर जानुपर्ने भन्दै सरकार छाड्न आनाकानी गरिरहेको छ ।
प्रदेश सभा ४० सदस्यीय भएपनि हाल ३५ जना मात्रै सांसद कायम छन् । जसमा एमालेका १३, माओवादी केन्द्र १२, कांग्रेस ६, एकीकृत समाजवादी ३ र राप्रपाका एक जना छन् । हाल सरकारको नेतृत्व माओवादीका नेता शाहीले गरेका छन् भने सरकारमा कांग्रेस र एकीकृत समाजवादीको सहभागिता रहेको छ ।