दैलेख कांग्रेसको सभापतिमा चार जना आकांक्षी
मातृभूमी राजनितिक व्युरो । १० मंसिर दैलेख
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत दैलेखमा जिल्ला अधिवेशन हुँदैछ । २ वटा प्रतिनीधिसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा २ वटै क्षेत्रहरुमा क्षेत्रीय अधिवेशन सम्पन्न भैसकेको छ । संस्थापन (देउवा) समुह र संस्थापनइतर (पौडेल) समुह निकट प्यानल सहित निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । क्षेत्रीय अधिवेशनवाट निर्वाचन क्षेत्र नं. १ मा पौडेल समुहवाट दशरथ उपाध्याय र क्षेत्र नं. २ मा देउवा समुहवाट भरत प्रसाद रिजाल क्षेत्रीय सभापतिमा विजयी भएका छन् ।
दैलेख जिल्ला अधिवेशनका लागी शनिवार (मंसिर ११ गते) हुँदैछ । शनिवार हुने अधिवेशनमा जिल्ला सभापतिका लागि ४ जना आकांक्षी देखिएका छन् । देउवा समुहबाट घनश्याम भण्डारीले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । भण्डारी दुल्लू नगरपालिकाका नगरप्रमुख हुन् । उनले क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधीमा अत्याधिक मत ल्याएर विजयी भएका थिए ।
यस्तै, पौडेल समुहबाट दुई कार्यकाल जिल्ला पार्टी सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका भुपेन्द्र शाही, दैलेख निर्वाचन क्षेत्र नं. १ को यसअघिका क्षेत्रीय सभापति गणेश उपाध्याय र पुराना, अनुभवी र शालिन स्वभावका नेता मणिराम रेग्मीे जिल्ला सभापतिका आंकाक्षी रहेको बताईएको छ । शाही क्षेत्र नं. २ तथा उपाध्याय र रेग्मी क्षेत्र नं. १ वाट महाधिवेशन प्रतिनिधीमा विजयी भएका थिए । क्षेत्रीय अधिवेशनबाट शाहीले ३ सय ८१, उपाध्यायले ४ सय ८ र रेग्मीले ५ सय १९ मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधी विजयी भएका थिए ।
रेग्मीले क्षेत्रीय अधिवेशनबाट सर्वाधिक मत पाएकोले पनि आफु सभापति हुनुपर्ने अडान राख्दै आएका छन् । उनले कार्यकर्ताबाट अनुमोदित मतलाई सम्बोधन गर्नकै लागि सभापति नछाड्ने बताए । ‘क्षेत्रीय अधिवेशनबाट प्राप्त मतलाई आधार मानी मेरो उम्मेदवारी छ’ रेग्मीले भने । मैले सर्वसहमतिको प्रस्ताव पनि गरेको छु । दुई समुहबीच शिर्ष नेताहरुको छलफलको निश्कर्ष बमोजिम उम्मेदवारी हुनेछ ।
सभापतिका लागि रेग्मीले सर्वसहमत प्रस्ताव गरेपनि उहाँलाई स्वीकार गर्न नसकिने पौडेल समुुहकै अर्का उम्मेदवार भुपेन्द्र शाहीले बताए । शाहीले आफु कुनैपनि अवस्थामा सभापतिबाट पछि नहट्ने बताए । ‘पौडेल समुहका नेता र आकांक्षी उम्मेदवारबीच छलफल हुँदैछ ।’ उनले भने, ‘छलफलबाट साथीहरुले मलाई सहमत नगरे पनि मेरो उम्मेदवारी जसरी पनि हुन्छ ।
यस्तै, पौडेल समुहकै अर्का उम्मेदवार गणेश उपाध्यायले पनि सभापतिको उम्मेदवारका लागि तयारी थालेका छन् । यसअघि क्षेत्रीय सभापति भईसकेकाले जिल्ला सभापतिमै उम्मेदवारी दिने उपाध्यायले वताए । यसरी, पौडेल समुहबाट तीन जनाको उम्मेदवारी हुने भएपछि देउवा समुहका एकल उम्मेदवार घनश्याम भण्डारीले बाजी मार्ने धेरेको आँकलल छ ।
दैलेखमा पौडेल समुहको दुई प्यानल
दैलेखमा पौडेल समुहको दुई प्यानल देखिएको छ । पौडेल समुहमा पूर्व राज्यमन्त्री गणेश बहादुर खड्का र पार्टी सभापति कृष्ण कुमार विसी प्यानल देखिएको छ । प्रतिनिधीसभा निर्वाचन क्षेत्रीय अधिवेशनसम्म आन्तरिक प्यानल बनेपनि जिल्ला अधिवेशनमा दुई प्यानल देखिन थालेको छ । पौडेल समुहबाट सभापति पदका आकांक्षी तीन जनामध्ये गणेश उपाध्याय र भुपेन्द्र शाही पार्टी सभापति विसी निकट हुन् भने मणिराम रेग्मी खड्का निकट छन् ।
पार्टीको १२औँ महाधिवेशनमा विसीलाई सभापति बनाउन खड्काले निकै जोडबल गरेका थिए । पार्टी सभापति जितेका विसी खड्का विरुद्ध पटक-पटक लागेपछि १३ औँ महाधिवेशनमा खड्काले मणिराम रेग्मीलाई विसी विरुद्ध सभापतिमा प्रतिस्पर्धा गराउन लागेको कांग्रेसका नेता कार्यकर्ताको भनाई छ । तत्कालिन अवस्थामा विसी स्वतन्त्र उम्मेदवारबाटै पार्टी सभापति बनेका थिए ।
विसीलाई खड्काको साथ नभएपछि बदला लिन विसीले खड्कालाई अनुसाशन समितिबाटै कारबाही गर्न पत्राचार समेत गरेका थिए । उनै विसी र खड्काले १४औँ महाधिवेशनमा फरक-फरक उम्मेदवारको तयारी गरेको कांग्रेसीजनको भनाई छ ।