नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

मातृभूमी संवाददाता । २० मंसिर दैलेख
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएको छ । ओमिक्रोनबाट दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।
यसअघि छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । त्यहाँ करिब दुई दर्जनबढी मानिसमा संक्रमण देखिएको भारतीय मिडियाहरुले जनाएका छन् । नयाँ भेरियन्ट करिब ४० बढी देशमा फैलिइसकेको छ ।

ओमिक्रोन भेरियन्ट : के छन् लक्षण, कसरी बच्ने ?

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । दक्षिण अफ्रिकाहुँदै नेपाल भित्रिएका दुईजना विदेशी नागरिकमा संक्रमण देखिएको हो । विशेषज्ञहरुले यो भेरियन्टलाई निकै घातक भनेका छन् ।
कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (म्युटेसन) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एसियाका केही देशहरूमा समेत यो भेरियन्ट पुष्टि भइसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भइरहेको छ । यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालले अन्र्तराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवत-जावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको खोपको विवरण लिने गरेको लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भइ प्रवेश गर्ने पूणर् मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमारका अनुसार नेपालमा ओमिक्रोन पुष्टि भएपछि निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आम नागरिकलाई ओमिक्रोन सम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यस सम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरू आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड १९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य हावा आवत-जावत राम्रो हुने स्थानमा बस्ने सुझाएको छ । भाइरसबाट बच्न खोपको प्रयोग महत्वपूणर् हुने भएकाले सबैले मापदण्डको पालना गरी खोप अभियानमा सहभागी हुन समेत आग्रह गरेको छ ।

यस्ता देखिन्छन् लक्षणहरु

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले दक्षिण अफ्रिकाका चिकित्सकहरूको अनुभव अनुसार लक्षण त्यति कडा नभएको बताएका छन् । त्यहाँका संक्रमितको अनुभवको आधारमा अत्यधिक थकान, टाउको र जीउ दुख्ने जस्ता समस्या देखिएको भनिएको छ ।
संक्रमित धेरैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नभएको, अचानक अक्सिजन कमी हुने समस्या पनि नदेखिएको उनले बताए । तर, डा. पुनले सावधानी भने अपनाउन आग्रह गरे ।

कोरोनावाट नेपालमा थप २ जनाको मृत्यु

नेपालमा थप २ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि ८ हजार ६ सय १७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ३८ र १ हजार ५ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको थियो ।
त्यस्तै पछिल्लो २४ घन्टामा ३ सय ५७ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या पनि घटेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ८६ रहेको छ । त्यस्तै कोरोना संक्रमणवाट थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *