कर्णालीको जुम्लामा एमबीबीएस पढाई सुरु
मातृभूमी संवाददाता । २० मंसिर जुम्ला
कर्णालीमा स्वाथ्यको समस्या सधैं चुनौतिको विषय बनिरह्यो । कयौं सिटामोलको अभावमा मृत्युवरण गर्न बाध्य हुन्छन् । पोष्टमार्टमका लागि नेपालगञ्ज र सुर्खेतबाट डाक्टर बोलाउँदा नआएर लाश गनाउँदा गनाउँदै चितामा पुर्याउनु पर्ने कर्णालीको बेथा नै थियो । तर त्यही कर्णालीमा अब एमबीबीएसको पढाइ सुरु गरिएको छ ।
हिमालको काखमा अब सेता कोट लाएका मानिस हिंड्ने छन् । जुम्लाको कर्णालीली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबाट एमबीबीएस पढाइ सुरु भएको छ । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो प्रयास र मेहनतपछि एमबीबीएस पढाइ सुरु गरेको हो । भौगोलिक विकटताले निकैपछि परेको कर्णालीमा यातायात विद्युत संचारको राम्रो ब्यवस्था नहुँदा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाई सुचारु गर्न यति लामो समय लागेको हो ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएसमा २० सिट, बीएमएसमा २० सिट, बिपिएचमा २० सिट, बि फार्मेसीमा २० सिटको पढाइ सुरु भएको हो । २०६८ सालमा जुम्लाको खलङ्गामा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला लगायत समग्र कर्णाली क्षेत्रको स्वास्थ्यमा महत्वपुर्ण योगदान दिंदै आएको छ ।
२०७३ सालबाट एमबीबीएस अध्ययन अनुमतिको लागि प्रयास गरेको प्रतिष्ठानले गत फागुनमा एमबीबीएसका लागि २० सिटको सम्बन्धन प्राप्त गरेको थियो । एमबिबिएस संचालनको लागि प्रतिष्ठानसँग ३०० बेडको आफ्नै अस्पताल, ल्याव, पुस्तकालय, होस्टेल, कर्मचारी प्रशासन, प्रध्यापकहरु छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल ९ वटा कार्यक्रम संचालन हुँदै आएकोमा अब एमबीबीएसको पढाइ पनि सुरु हुने भएपछि केही वर्षमा प्रतिष्ठानले काचुली फेर्ने प्राध्यापक डक्टर दिनेश बास्तोलाले वताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन सरकारी शिक्षालय भएकाले र कर्णाली जस्तो हावा पानी मिलेको ठाँउमा भएकाले पनि आफूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रोजेको सिन्धुलिकी अपेक्क्षा पराजुलीले वताईन् ।
पूर्वी तराईको महोतरीबाट पश्चिमको हिमाली जिल्ला जुम्लामा अध्ययनका लागि आएका सुनिलकुमार मण्डलले कर्णालीमा आएर एमबीबीएस पढ्न पाउँदा निकै खुसी लागेको बताए । यस प्रतिष्ठानमा काम गर्ने प्राध्यापक अनुभवी रहनु र सहरी क्षेत्रको जस्तो अस्तब्यस्त नहुनु यस प्रतिष्ठानको आकर्षण रहेको मण्डलको भनाई छ । धेरै चुनौति झेलेर एमबीबीएस सुचारु गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले आगामी दिनमा पनि थप चुनौती सामना गर्नुपर्ने देखिन्छ ।