श्रीमतिलाई अगुल्टोले पोलेको कसूरमा श्रीमानलाई दुई वर्ष कैद
मातृभूमी संवाददाता । २४ मंसिर दैलेख
श्रीमतिको शरीरमा तातो पानी र अगुल्टोले पोलेको कसूरमा दैलेखमा एक युवकलाई दैलेख जिल्ला अदालतले दुई वर्ष कैद, २० हजार जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र १२ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।
भैरबी गाउँपालिका-५ गौरीसल्लाका २६ वर्षीय पति दीपक नेपालीलाई आफ्नी श्रीमति २६ वर्षीया हस्तना नेपालीलाई पटक-पटकको घरेलु हिंसापछि ज्यानै जान सक्ने सम्मको कसूर ठहर गर्दै उक्त फैसला भएको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
२०७८ साउन २४ गते राति दीपकले आफूलाई देउता आएको बाहनामा हस्तना नेपालीको शरीरमा तातो पानी र अगुल्टोले पोलेको घटनामा जिल्ला प्रहरी कार्यालय दैलेखमा साउन २५ गते पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले साउन २५ गते नै पक्राउ गरेको थियो ।
दैलेख जिल्ला अस्पतालमा तीन साता उपचार गरिएको पीडितको स्वास्थ्य अवस्था र निरन्तर घरेलु हिंसा हुँदै शरीर पोल्नेसम्मको घटना गराएको भन्ने प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा २०७८ भदौ १६ गते ज्यान मार्ने उद्योगको अभियोग पेश गरेको थियो ।
अभियोग सम्वन्धमा भदौ १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो । शुक्रवार भएको फैसला बारे पीडितको राहत र न्याय अनुभूतीमा राम्रो काम गरेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले टिप्पणी गरे ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियाने अन्तिम दिन एक जना घरेलु हिंसा पीडितले न्याय पाएकोमा आफूलाई खुशी लागेको कानूनी सहायता र उपचारमा सघाउ पुर्याएको सामाजिक सेवा केन्द्र (सोसेक)को महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठले प्रतिक्रिया दिईन् ।
यस्तै संयोगले अभियान सुरु भएको दिन मंसिर ९ गते दैलेखमा ४० वर्षीय एक जनाले १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । तीन वर्षदेखि आफूमाथि यौन शोषण हुने गरेको र पछिल्लो पटक २०७८ साउन २८ गते बलात्कार गरे यता भागेर जिल्ला बाहिर बसेको पीडितले जाहेरीमा खुलाएकी थिइन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कणर्ाली प्रदेश कार्यालय सुर्खेत पुगी पीडितले पहिलो पटक मंसिर ६ गते खुलाएकीमा इन्सेकको पहलमा प्रहरीमा जाहेरी परेको थियो । पीडित बालिका अहिले महिला तथा बालबालिका सेवा केन्द्रको आपतकालिन आवासगृहमा संरक्षण दिइएको छ ।