बालिका बलात्कार गर्नेलाई जन्मकैद
मातृभूमी संवाददाता । ०१ पौष दैलेख
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा एक जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद (२५ वर्ष) को फैसला सुनाएको छ । नारायण नगरपालिका ८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई जन्मकैदसँगै ६ लाख जरिवाना, १ लाख पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले विहीवार फैसला गरेको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए । पाँच वर्षकी नावालिकलाई बलात्कार गरेको गम्भीर घटना भएका कारण सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले अभियोगमा गरिएको मागदावी अनुसारकै जन्मकैद सजायको जिकीर सहित पीडित बालिकाको पक्षबाट बहस गरेका थिए ।
२०७७ पुस १७ गते बालिकालाई बलात्कार गरेको भन्ने आरोपमा पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले त्यही दिन पक्राउ गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा त्यही दिन भएको थियो । बलात्कारले बालिकाको यौनाङ्ग रक्ताम्य भएको कारण निको हुन दुई महिना लागेको थियो ।
प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत माघ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेश गरेको थियो । थुनछेक बहसपछि कसूरदारलाई माघ १३ गते पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो ।
मुलुकी अपराध सहिंता २०७४ अनुसार जन्मकैद २५ वर्ष पुर्याइएको छ । कर्तव्यज्यान, गम्भीर प्रकृति बलात्कार, दंगा गरेर नरसंहार जस्ता जघन्य अपराधमा जन्मकैद हुन सक्ने कानूनी व्यवस्था छ । अहिलेको अपराध सहिंता भन्दा पहिले मुलुकी ऐन २०२० ले जन्मकैद २० वर्ष तोकेको थियो । वारदात भएको समय अनुसार जन्मकैद ठहरेका पुराना मुद्दामा २० वर्ष नै कैद हुने गरेको छ ।