वेथिति श्रृंखला-३६ : वडाध्यक्षको संलग्नतामा विद्यालयको सिमेन्ट हिनामिना

मातृभूमी संवाददाता । ०१ पौष दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिकामा स्कुलको सिमेन्ट वडाध्यक्षले हिनामिना गरेको पाइएको छ । ठाँटिकाँध गाउँपालिका २ प्याडुल्लीमा स्कुल मर्मतका लागि राखिएको सिमेन्ट वडाध्यक्षले हिनामिना गरेको पाईएको हो । ठाँटिकाँध गाउँपालिका २ प्याडुल्लीमा रहेको दशरथ माध्यमिक विद्यालयमा राखेको ५४ बोरा सिमेन्ट वडाध्यक्ष रुपलाल विश्वकर्मा सहित अन्य पाँच जनाले हिनामिना गरेका हुन् ।
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत विद्यालय मर्मतका लागि दश लाख रुपैयाँ छुट्याइएको थियो । विद्यालयमा मर्मतका लागी खरिद गरिएको सिमेन्ट राम्रोसँग प्रयोग नगरेरै बाँकी रहेको ५४ बोरा सिमेन्ट वडाध्यक्षले हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन् ।
ठाँटिकाँध गाउँपालिका २ का स्थानीय कलम शाहीले विद्यालय मर्मतका लागि ल्याएको सिमेन्ट राम्रोसँग प्रयोग नगरी बजेट र काम सक्ने बहाना बनाएको बताए । स्थानीय शाहीले भने, ‘विद्यालयमा राम्रोसँग सिमेन्ट नलगाएरै वडाध्यक्षले नमानेर लिनुभयो ।’
शाहीका अनुसार वडाध्यक्षले २१ बोरा सिमेन्ट लिएका छन् । अर्का वडाध्यक्षकै पछि लाग्ने पदम विक, रमेश सुनार र जिर थापाले ३/३ बोरा र जगत विकले २ बोरा सिमेन्ट लिएका छन् । जनक विश्वकर्माले १६ बोरा सिमेन्टको १० हजार पैसा तिरेर लिएका थिए भने अन्यले पैसा नतिरेर लिएको शाहीको भनाई छ ।
सिमेन्ट भागबण्डा गरि वितरण गर्नेमा उपभोक्ता समितिका अध्यक्ष मनबहादुर बिक रहेका छन् । उनले जनक विश्वकर्माबाट १६ बोरा सिमेन्ट मार्फत आएको १० हजार रुपैयाँ समेत विद्यालयलाई नदिएर आफैले खर्च गरेको स्थानीयले आरोप लगाएका छन् ।
यता वडाध्यक्ष रुपलालले विद्यालय मर्मत गरेर बचेको सिमेन्टलाई सकिएर जानु भन्दा स्थानीय लगाएत आफुले लगेको बताए । वडाध्यक्षले भने, ‘यो कुनै हिनामिना पनि हैन, उपभोक्ता समितको सहमतीमा विद्यालय मर्मतपछि बचेको सिमेन्ट पैसा तिरेर लग्नेलाई दिइएको हो ।’
वडाध्यक्ष रुपलालले भने ‘विद्यालयको काम गत असार मसान्तमै सकिएको हो । बचेको बाँकी सिमेन्ट राखेको भए आजसम्म सबै बिग्रिएर जानुभन्दा विव्यसका अध्यक्षको सहमतिमा अरुलाई दिइएको हो ।’
वडाध्यक्षले गत असार मसान्तमा काम सकिएको र उपभोक्ता समितिका पदाधिकारी बाहिर रहेकोले हालसम्म हिसाब नभएको बताए । अबको केही दिनमा विद्यालय बैठक बोलाएर सबैको हिसाब माग्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *