‘लैंगिक हिंसा रोकथाममा सहयोग’

मातृभूमी संवाददाता । ०४ मंसिर दैलेख
दैलेखको नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले सरकारका नीति तथा कार्यक्रमहरुले पीडितहरुलाई न्याय पाउन र सचेतनाका माध्यमबाट लैंगिक हिंसा रोकथाममा सहयोग पुगेको बताएकी छिन् । यूनिसेफ तथा किडार्क नेपालको सहयोगमा स्वास्थ्य सेवा कार्यालयको समन्वयमा दैलेखमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सम्वन्धी अभिमुखीकरण कार्यक्रममा उपप्रमुख मल्लले सचेतनाका माध्यमबाट लैंगिक हिंसा रोकथाममा सहयोग पुगेको बताएकी हुन् ।
त्यस्तै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले लैंगिक हिंसाका स्वरुपहरु बदलिंदै दैलेखमा पनि मानव बेचबिखनको समस्या देखिन थालेको वताए ।
कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी भुवनेश्वर साहले लैंगिक हिंसा रोकथामका लागि प्रहरीले रातदिन काम गरे अनुसार समाज र सरोकारवालाको सहयोग जरुरी रहेको बताए ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले लैंगिक हिंसा पीडितहरुलाई राहत सहयोग, सुरक्षा, न्याय र पुर्नःस्थापना गर्ने (ओसीएमसी)को काम प्रभावकारी बनाउन सरोकारवालावीच समन्वय आवश्यक रहेको वताए ।
स्वास्थ्य सेवा कार्यालयका कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले ओसीएमसीको उद्देश्य अनुसार काम भइरहेकोले सेवाग्राही बढ्दै गरेको बताए ।
किडार्कका कणर्ाली प्रदेश कार्यालयका अनुगमन तथा मूल्यांकन अधिकृत किरण पौडेलले लैंगिक हिंसा रोकथामका लागि सरकारी र गैरसरकारी तहबाट केही पहल भए पनि प्रयाप्त नभएको वताए ।
कार्यक्रममा दैलेख अस्पतालका डा. जीवन ज्ञवालीले ओसीएमसीका क्षेत्र, सेवा पाउने प्रक्रिया र कानूनी सवालमा अधिवक्ता शिवराज दाहालले सहजीकरण गरेका थिए । सहजीकरणका क्रममा डा. ज्ञवालीले दैलेखमा कार्यक्रम लागू भए यता २ वर्षमा १ सय ६७ जना लैंगिक हिंसा पीडितले सेवा लिएको र त्यसमा १९ देखि ४९ वर्ष उमेर समूहका बलात्कार लगायत यौनजन्य हिंसा घटनासंग सम्वन्धित रहेको जानकारी दिए ।
देशका ७७ वटै अस्पतालमा लागू भएको ओसीएमसी कार्यक्रम लैंगिक हिंसा पीडितहरुको स्वास्थ्य उपचार, सुरक्षा, आश्रय, कानूनी उपचार, पुर्नःस्थापनाको उद्देश्यले सञ्चालन गरिए पनि २२ प्रतिशत सेवा पाइरहेको र ६६ प्रतिशत पीडितहरुले घटना लुकाउने गरेको अध्ययनले जनाएको छ ।
२०६८ फागुन २२ गते नेपाल सरकारको निणर्य अनुसार लैंगिक हिंसा नियन्त्रण सम्वन्धी रणनीति अनुसार लागू भएको ओसीएमसी प्रभावकारी बनाउन ७७ वटै जिल्लाका सदरमुकामका अस्पतालमा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्ला स्तरीय समन्वय समिति र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।
ओसीएमसी २०७६ देखि सुरु हुँदै आएकोमा नारायण नगरपालिका र दुल्लू नगरपालिकामा मानसिक स्वास्थ्य परामर्श केन्द्र (सीएमसी)को कोभिड रेस्पोन्स परियोजनाले मामिला व्यवस्थापक ओसीएमसीमै राखिदिएकोले सेवाग्राही बढेका छन् ।
आवश्यकता पर्दा कानूनी उपचारमा समेत सहयोग गर्नसक्ने भए पनि दैलेखमा ओसीएमसीमा आएका सेवाग्राहीहरुलाई कानूनी सहायता र आपत्कालिन आवासको आवश्यकता परेको बेला सोसेकको महिला तथा बालबालिका सेवा केन्द्रले सेवा दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *