दैलेखका ४ स्थानीय तह र ४ सरकारी कार्यालय निमित्तकै भरमा

मातृभूमी संवाददाता । ०६ पौष दैलेख
दैलेखका चार स्थानीय तह लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिका निमित्तकै भरमा संचालन भैरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरवन्दी तेरिज अनुसार राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) १० औं तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।
२०७५ वैशाखमै उक्त दरवन्दी तेरिज सार्वजनिक गरिएको भएपनि हालसम्म दरवन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत दैलेखमा आएका छैनन् । नारायण नगरपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत छन् । यस्तै चामुण्डा विन्द्रासैनी नगरपालिकामा पनि शाखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको कामकाज गरिरहेका छन् ।
यति मात्रै हैन यहाँका ११ स्थानीय तह मध्ये दुई नगरपालिका र दुई गाउँपालिकामा दरवन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन् । यहाँको ठाँटिकाँध गाउँपालिका र नौमूले गाउँपालिका समेत निमित्तको भरमा संचालन हुँदै आएका छन् । दैलेखको नारायण नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर वस्नेत सरुवा भएर गएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशम वहादुर वुढाले नियमित कामकाज गरिरहेका छन् ।
यस्तै दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका झण्डै ४ वर्षदेखी निमित्तको भरमा संचालन हुँदै आएको छ । यहाँ तत्कालिन अवस्थामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बावुराम नेपालीले सम्हाल्दै आएका थिए । नेपली २ वर्ष अघि सरुवा भएर ठाँटिकाँध गाउँपालिका गएपछि त्यहाँ तिलक वि.क.ले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
यसैगरी यहाँको नौमूले र ठाँटिकाँध गाउँपालिका पनि निमित्तकै भरमा संचालन हुँदै आएको छ । नौमूले गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइराला २०७७ चैत्रमा सरुवा भएर गएपछि भुपेन्द्र शाहीले निमित्तको जिम्मेवारी सम्हालेका छन् । शाही स्वास्थ्य क्षेत्रको भएपनि उनले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । त्यतिमात्र हैन दैलेखको ठाँटिकाँध गाउँपालिका पनि निमित्तको भरमा संचालन हुँदै आएको छ । ठाँटिकाँधका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बावुराम नेपालीको जिल्ला समन्वय समितिमा सरुवा भएपछि मनवहादुर थापाले निमित्तको जिम्मेवारी सम्हालेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा ‘कानून अनुसार प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले निजामति सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशाकसीय अधिकृतको रुपमा काम गर्न खटाउने छ’ भन्ने व्यवस्था छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा भएको प्रावधानलाई भन्दा पनि यहाँका गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष तथा प्रमुखले आफ्नो अनुकुलको मान्छेलाई प्रमुख प्रशासकीय अधिकृत वनाउने र दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत ल्याउन नचाहेको देखिन्छ ।

जिल्लाका सरकारी कार्यालय नै निमित्तको भरमा

स्थानीय तहमात्रै होइन, जिल्लाका अधिकांश कार्यालय निमित्तको भरमा चलेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेख, कृषि विकास कार्यालय दैलेख, पुर्वाधार विकास कार्यालय दैलेख, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेख लगाएतका सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय विगत लामो समयदेखी निमित्तको भरमा संचालन हुँदै आएका छन् ।
स्वास्थ्य सेवा कार्याल दैलेखका तत्कालिन कार्यालय प्रमुख डा. निरन्जन पन्त सरुवा भएर गएपछि लामो समयदेखी स्वास्थ्य कार्यालय निमित्तको भरमा संचालन हुँदै आएको छ ।
यस्तै दैलेखको कृषि विकास कार्यालय र पुर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुखको सरुवा भएपछि कार्यालय प्रमुख आउने अपेक्षा गरिएको थियो । तर निमित्तको सरुवासँगै कार्यालयमा फेरी पनि निमित्त नै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!