गाउँघरमा हराउँदै ढिकीजाँतो

?

मातृभूमी संवाददाता । ०८ पौष दैलेख
गाउँ-गाउँका घरैपिच्छे रहेका ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेका छन् । युवा पुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कुटानी पिसानीका ती साधन लोप हुन थालेका हुन् । ठाँटिकाँध गाउँपालिका ४ गैरागाउँका ७६ वर्षीय वृद्धा गौरा वडुवालले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताईन् । ढिकीमा कुटेको धानको चामल, मकैको पिठो, धानको सिरम्ला साथै जाँतोमा पिनिएको कोदोको ढिँडो, गहुँको रोटी तथा चामलको माणा लगायतका खानेकुरा ढिकीजाँतोमा कुट्ने र पिन्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आईन् । उनलाई नै यतिबेला विगतमा ढिकीजाँतोमा संघर्ष गरिएका ती दिन हिजोआज कथा जस्तै लाग्ने गरेको छ । उनका पालामा गाउँमा ढिकीजाँतो नभएको कुनै घर हुँदैन थियो । पछिल्लो सयम ती साधन हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई कुनै बेलाको कथा जस्तै भएको हो ।
गाउँ-गाउँमा भित्रिएको आधुनिक मिलको प्रयोग हुन थाल्यो । पहिलाको जसरी जोस जाँगर पनि उमेरसँगै घटेपछि ढिकीजाँतो गर्न असम्भव हुन पुग्यो । युवा पुस्ताले ढिकीजाँतो बेवास्ता गर्न थालेपछि गाउँघरबाट लोप हुन पुगेको उनको भनाई छ । तत्कालीन समयमा उनीमात्र होइन उनीजस्तै वृद्धवृद्धाले समेत बिहान भाले बास्नासाथ ढिकी जाँतो गर्ने गर्दथे । यसरी ढिकीजाँतोमा कुटेको र पिस्दा स्वाद पनि मिठो हुने गरेको बताईन्छ ।
त्यस्तै, चामुण्डा विन्द्रासैनी २ चाल्नेका ७३ वर्षीय मनवहादुर सिंजालीले भने, ‘हाम्रा पालामा सबैले घरमा ढिकी राख्थे, जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र मकै पिस्ने मेसिन आयो, अहिले केलाई चाइयो र ढिकीजाँतो ।’ बुहारीचेलीले ढिकीजाँतो चलाएको आवाज, झिसमिसेमा भाले बासेको आवाज, जङ्गलमा च्याखुरा र चराचुरुङ्गी कराएको आवाज सुन्न पाइने सम्झिँदै आजकल त्यस्तो मौलिकता हराईसकेको उनको भनाई छ ।
ढिकीजाँतोमा कुटानी पिसानी गरिएका उतिबेलाका खानाको स्वाद अहिले पनि आफ्नो जिब्रोमा झुन्डिइरहेको उनले बताए । सो गाउँमा केहि वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो । अहिले पुनडाँडामा आधुनिक मिल आएसँगै विस्तारै ढिकीजाँतो हराउन थालेको उनले वताए । उनले भने, ‘गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले ।’ ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःख समेत धेरै गर्नु पर्ने भएकाले गाउँलेले यस्ता परम्परागतका सामग्रीको प्रयोग गर्न छाडेको सिंजालीको भनाई छ । आधुनिक मिलमा एक मुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि धान कुटी नसकिने यहाँका स्थानीयको भनाई छ । पुराना पुस्ताले काम गर्न नसक्ने हुँदा नयाँ पुस्ताले परम्परागत ढिकीजाँतोको बेवास्ता गरी छिटो छरितोको लागि समेत धान कुट्ने आधुनिक मिल नयाँ पुस्ताको प्राथमिकतामा परेसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ ।
त्यस्तै, ठाँटिकाँध गाउँपालिका ६ को पाँचाला गाउँमा केही वर्षअघिसम्म गाउँमा प्रत्येक घरमा ढिकी थियो । जाँतो थियो । एकाबिहानै सबैको घरमा ढिकीजाँतो चलाएको आवाज सुनिन्थ्यो तर, अहिले गाउँबाट लोप भएको स्थानीय मनसिंह थापाले बताए । उनले भने, ‘गाउँमा आधुनिक मिल आयो अनि ढिकीजाँतोको प्रयोग गर्न छाडे ।’
दैलेखको नारायण नगरपालिका वडा नं. १ र ६ ले परम्परागत ढिकीजाँतो जोगाई राख्न ढिकीजाँतो निर्माण गरी कुटानी पिसानी गर्ने वनाएका छन् । नारायण नगरपालिका वडा नं. १ ले जिल्ला अदालत पछाडी रानिधारा जाने वाटो वधशाला नजिक र नारायण नगरपालिका वडा नं. ६ ले गणेशचोक खाद्य नजिक ढिकीजाँतो निर्माण गरेर राखेका छन् ।
मौलिक परम्परा जोगाउन आफुहरुले वडाको वजेटवाट ढिकीजाँतो निर्माण गरेर संचालन गरेको वडा नं. ६ का वडाध्यक्ष प्रकाश न्यौपानेले वताए । लोप हुँदै गएका र युवा पुस्ताले वेवास्ता गर्दा तथा आधुनिक प्रविधिको प्रयोगसँगै ढिकीजाँतो हराउन थालेपछि आफुहरुले निर्माण गरेर मौलिकपन जोगाई राखेको उनले वडाध्यक्ष न्यौपानेले वताए ।
ढिकीजाँतो कुटानी पिसानीका सामग्री मात्रै नभई नेपाली समाजको मौलिक संस्कृति र जनजीवनसँग सरोकार राख्ने पक्ष पनि हो । यस्ता परम्परागत मौलिक ढिकीजाँतोको संरक्षण गर्दै भावी पुस्तालाई देखाउनु पर्दछ ।
साथै यो जिल्ला पर्यटकीय स्थल भएकाले यस जिल्लामा आउने विदेशी तथा स्वदेशी पर्यटकको लागी समेत ढिकीजाँतोमा कुटानी पिसानी गरेर बनाईएको मिठो स्वादिला विभिन्न परिकारले आकर्षित गर्न सकेमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!