नारायणका मेयर रत्नवहादुरको दादागिरी, न्याय माग्दा प्रहरी हिरासतमा
मातृभूमी संवाददाता । ११ पौष दैलेख
दैलेखको नारायण नगरपालिकाले सडकमा परेको जग्गाको २५ वर्षदेखि राजस्व अशुल गर्दै आएको छ । सडकको लगत कट्टा नगर्दा नगरवासीले सडकको राजस्व तिर्दै आएको पाईएको छ । नारायण नगरपालिकाले नगरभित्र कति वटा सडक छन् । कति जग्गा सडकमा परेका छन् त्यसको समेत हिसाव राखेको छैन । नगरमा टोलपिच्छे सडक सञ्जाल जोडिएको छ । नगरपालिकाले कुनै कार्ययोजना नवनाएर हचुवाको भरमा चल्दै आएको स्थानीय रमेश विसीले बताए ।
अहिलेसम्म नगरपालिकाले सडकमा परेको जग्गाको लगत कट्टा नगरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले बताए । ‘अहिलेसम्म सडक मूल्याकंन र लगत कट्टा गरिएको छैन,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाले भने,’ यो आर्थिक वर्षमा बजेट छुट्याईएको छ अब लगत कट्टा गर्ने तयारीमा छौं ।’ नारायण नगरपालिका २०५२ सालमा स्थापना भएको हो ।
राजस्व तिरिहे तर, जग्गा पाएनन्
जग्गा धनीसँग सहमति नलिएरै जग्गा सडककै फेरोमा पारेर सुकुम्बासी बनाएपछि नारायण नगरपालिका ६ रामपुरका स्थानीय सुर्य चुनाराले न्याय माग्दा सुनुवाई भएन । त्यसपछि उनले सडकमा ढुंगा झारेर सडक अवरुद्ध गरे । सडक अवरुद्ध गरेपछि नगरप्रमुख रत्नबहादुर खड्काले प्रमुख जिल्ला अधिकारी मार्फत प्रहरी लगाएर सुर्यलाई थुनाए । उनले १७ वर्षदेखि नियमित राजस्व तिरिरहे तर, जग्गाको भोगचलन गर्न पाएनन् । न त क्षतिपूर्ती नै पाए ।
‘२० मिटरको जग्गा पूरै सडक खनेर मासियो,’ पीडित सुर्य चुनारा भन्छन्, ‘सडक खन्दा खवर भएन, पछि आउँदा जग्गा र बुवाले बनाएको सानो टहरा नै थिएन ।’ २०५५ सालमा २० मिटर जग्गा किनेर बसेको थिए । आफूले निकासका लागि मेयरलाई बारम्वार भन्दा केही सिप नलागेपछि सडकमा ढुंगा राखेको उनले बताए । आफूसँग छलफल नगरि प्रहरी लगाएर मेयरले थुनाएको आरोप सुर्यले लगाएका छन् ।
‘नगर प्रमुख रत्नबहादुर खड्कालाई निकास दिनु परो भन्दा सरकारी प्रक्रिया हो समय लाग्छ बढी कुरा गर्ने होईन प्रहरीको चिसो खुवाउँछु भन्नुभयो,’ पीडित सुर्य चुनाराले भने,’ मैले मेरो जग्गामा ढुंगा राख्दा प्रहरी लगाएर थुनाईयो । सडक पनि सहमति नलिई खने, यतिका वर्षदेखि न्याय नदिएर मेयरले थुनाए ।’
चुनाराले नारायण नगरपालिकाको न्यायिक समितिमा दिएको उजुरी ७ महिनादेखि थन्किएको छ । निकासका लागी नगरपालिकाले अहिलेसम्म निणर्य गरेको छैन । सडकले पूरै जग्गा नै लिएपछि क्षतिपूर्ती दिनुपर्ने कानुनी ब्यवस्था (नजिर) छ । नगरप्रमुखको आग्रहमा प्रमुख जिल्ला अधिकारी मार्फत थुनामा राख्न आदेश आएकाले प्रहरीले पक्राउ गरेको दैलेखका प्रमुख (डिएसपी) भुवनेश्वर साहले जानकारी दिए ।