चिनियाँ अन्तरिक्ष केन्द्रमा भएको घटनापछि एलन मस्कको आलोचना

चीनमा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको व्यापक आलोचना भएको छ । चीनले मस्कको रकेट निर्माता कम्पनी स्पेसएक्सले प्रक्षेपण गरेका भू-उपग्रह आफ्नो अन्तरिक्ष केन्द्र नजिकै आएर ठोक्किन लागेको र भू-उपग्रह रोक्न बाध्य भएको गुनासो गरेपछि मस्कको आलोचना भएको हो ।

चीनले राष्ट्रसंघको अन्तरिक्ष एजेन्सीसमक्ष पेश गरेको गुनासोमा यही जुलाई १ र अक्टोबर २१ गते स्पेसएक्सले प्रक्षेपण गरेका भू-उपग्रह आफ्नो अन्तरिक्ष केन्द्र नजिकै आएर ठोक्किन लागेको र भू-उपग्रहलाई रोक्न बाध्य भएको उल्लेख छ ।

‘सुरक्षाका कारण चीनको अन्तरिक्ष केन्द्रले (भू-उपग्रह) नठोक्कियोस् भनेर रोकथाम एवं नियन्त्रणका लागि आवश्यक कदम चालेको थियो’, राष्ट्रसंघको बाह्य अन्तरिक्ष मामिलासम्बन्धी राष्ट्रसंघीय कार्यालयमा पेश गरेको गुनासो पत्रमा उल्लेख छ ।

उक्त गुनासो सार्वजनिक भएसँगै चिनियाँ सामाजिक सञ्जाल वेइबोमा मस्क, स्टारलिङ्क र अमेरिकाको चर्को आलोचना भएको बीबीसीले जनाएको छ । एक जना सामाजिक प्रयोगकर्ताले स्टारलिङ्कका भू-उपग्रहलाई ‘अन्तरिक्षमा फोहोरको थुप्रो मात्रै’ भएको टिप्पणी गरेका छन् ।

वैज्ञानिकहरूले अन्तरिक्षमा भू-उपग्रह तथा अन्य भग्नावशेष ठोक्किए दुर्घटना हुन सक्ने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरूले पृथ्वीको परिक्रमा गर्ने झण्डै ३० हजार भू-उपग्रहसहित अन्तरिक्षका अन्य भग्नावशेषबारे सूचना आदान-प्रदान गर्न समेत अपील गरेका छन् । स्पेसएक्सले आफ्नो स्टारलिङ्क नेटवर्कको अंग स्वरुप अन्तरिक्षमा करिब १ हजार ९ सय भू-उपग्रह प्रक्षेपण गरिसकेको छ । बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *