कविता : मेरो जीवनको पहेली
तोयनाथ भट्टराई
सुर्केमा हरेक दिन बिहानै रुखका टुप्पा छुँदै
म्याङ्लुङ बजारतिरबाट घाम छिर्थे र
बेलुकी तीनजुरे काटेर अस्ताउँथे ।
घामको झुल्को मूलढोकाबाट छिरेर
चुलाको भर्सेलीसम्म पुग्थ्यो ।
अस्ताउँदो घाम बिस्तारै पहेलिँदै
लामा लामा छायाँ फालेर बिदा हुन्थ्यो ।
घडी थिएनन्, त्यसैले घामको खटन खुब चल्थ्यो ।
सधैँ झुल्किने घाम हेरेर किसान खेतबारीतिर जान्थे
गोठाला गाईबाख्रा लिएर वनतिर लाग्थे
म भाग्यमानी हुन पुगेछु
हिँड्न सक्ने हुँदा नहुँदा पाठशाला जान पाएँ
त्यहीँनिरबाट मेरो बाटो अरूको भन्दा अलग्गियो ।
प्राथमिक कक्षामै अक्सफोर्ड क्लरेन्डन रिडर
छोटा र लामा मानेको रटान
निम्न माध्यमिकमा चक्रवर्तीको गणित
केपी बसुको अलजेब्राबाट हिसाब सुरु भयो
माविमा पुग्दा जोमेट्री त्रिग्नमेट्री र डाइनामिक्ससहित
अङ्ग्रेजीका नौथान पुस्तकको झोला भिरियो
अङ्ग्रेजी प्रोज र पोइट्री अनि ग्रामर नियम कण्ठ पारियो
मलाई त्यो शिक्षाले कता पुर्याउने हो थाहा थिएन
मेरा गुरुहरूलाई पनि सायद पत्तो भएन,
हाम्रो शिक्षामा मेकालेको भूत लुकेको छ
त्यसले बैदार बन्न मात्र पूर्वाधार दिन्छ ।
ब्लाइन्डर बाँधेको घोडा भएर म
धनकुटादेखि काठमाडौं, लन्डनदेखि वासिङ्टन डिसीमा
निकै वर्ष जोतिएँ र बाँकी सबै अवधि बैदारीमा बिते
तेल मालिस गरेर हाकिम रिझाउन नरुचाउँदा
कनिष्टलाई कुर्सी दिएर एक सल्ली घाम छँदै
अन्यायपूर्वक घर जाऊ भनेर मेलो छोडाए ।
उप्रान्त मेरो जीवन
नानी तथा बाबुहरूसहित धर्म पत्नीका साथ
पारिवारिक प्रेममय मार्गचित्रमा चल्दैछ ।
यसो विचार गर्दा अहिले पनि घाम हरेक दिन
पूर्वको डाँडामा झुल्केर पश्चिमको क्षितिजमा डुब्छन्
मेरो निजी घाम कहिले अस्ताउने हो
भन्न सक्ने कुरो होइन तापनि गत विगतमा
घाम वा जुनको नियमित यात्राजस्तै मैले पनि
अनेकौँ झरी बादल र उकाली ओराली झेल्दै झेल्दै
सत्तरी हिउँद कसैलाई घच्च नदिई पार गर्न सकेकोमा
आफैलाई, नानी तथा बाबुहरुका साथ धर्मपत्नीलाई
अनि यो अवधिमा मेरो अभर टार्नु हुने र
भोलिका लागि भलो चिताउनु हुने जति
मेरा हितेच्छुक जन सम्पूर्णलाई
दिन चाहन्छु हार्दिक धन्यवाद ।
अनामनगर, काठमाडौं