कविता : हँसिला नेपाली देख्न मन छ
टङ्कमणि अधिकारी
संसारका अग्ला हिम शिखरबाट बगेको
पानीमा निर्विघ्न नुहाइरहेका
हँसिला नेपालीहरू देख्न मन छ
खाडीबाट
पीडा बोकेर फर्केको छोरो होइन
हलो जोतेर घर फर्केको
हलीको प्राञ्जल मुहार देख्न मन छ
पुस–माघको शीतमा भिजेका मान्छेहरू
सडक पेटीबाट जुरुक्क उठ्दै
एक अँगालो प्रकाशपुञ्ज काँधमा बोकेर
भर्खर बनेको स्निग्ध सफा घरमा
जहानबच्चा काखी च्यापेर
धमाधम पस्तै गरेको देख्न मन छ ।
…
अँगालाभरि मान्छेका चाहनाहरू
पोल्टाभरि ममताका परिकार
विस्फारित मानवीय स्वतन्त्रता बोकेर
र मानवताको पोको फुकाउँदै
आफ्ना सवलाङ्ग आँखै अगाडि
झुपडीमा छिर्दै गरेको एउटा भरोसायोग्य
असल मान्छे देख्न मन छ
अन्याय अत्याचार मासेर
मानवताले भूगोल बेरेको देख्न मन छ
जसरी भोर्लाको लहराले
भरोसा सम्झेर सालको रूख बेरिरहेको छ ।
….
हो ! समय छँदै देख्न मन छ
प्रत्येक आमाको छातीले सम्मान पाएको
हरेक छरपष्ट अपराधले
उप्रान्त सच्चिने कसम खाएको
बुद्ध र गान्धीहरू यही युगमा फेरि जन्मेर
समयले दिएका पीडा र चोटहरूमा
मलम लाएको देख्न मन छ
मानौँ प्रसवपछिकी गाई
सुख लपलपाउँदै बाछो रुँगिरहेकी छन्
तर हत्या, हिंसा, दुराचारहरूले
थङ्थिलो भएको देश, परदेश
जुरुक्क उठेर
फुर्तिले मुस्कुराएको देख्न मन छ
अन्धकारबाट
निस्किएको उज्यालो हेरेर
असहायहरू
प्रदीप्त उज्यालोमा हाँसेको देख्न मन छ ।
…….
मुटुहरू रेटिएनन् भने धरामा
माटोहरू हाँसिरहन्छन् उर्वर गराहरूमा
त्यतिबेला भोकतिर्खा मेटिरहेका
उचित ज्यालासहितका
वजनदार पौरखी पाखुराहरू
हिलोसँग आलिङ्गन गरिरहेको देख्न मन छ
जहाँबाट संसार चियाउन सकियोस्
मानवताको सङ्ग्राममा
सर्वदा समानता हाँसिरहेको देख्न मन छ ।
….