कविता : स्वतन्त्रता खोसिएको म

झमक घिमिरे

मानव सभ्यताको यौटा पर्याय म

जन्मिँदा उस्तै अनुहार लिएर आएँथें
उस्तै हाड, छाला, मासुको शरीर
र , उस्तै रुवाइको आवाज लिएर आएँथें
मलाई के थाहा यहाँ छूत र अछूतको भेद छ ?
तिमी समानताको नारा बोकेर
यही दुनियाँमा एकनाससँग दौडिरहेछौ

मुक्तिको एउटा नारा मलाई पनि देऊ सापटी

यही भूमिबाट मुक्तिको शस्त्र

उठाउन मन लागेको छ ,

मलाई पनि यही समयको अन्तरालदेखि

क्रान्तिको झण्डा बोक्न मन लागेको छ

तिम्रो स्वतन्त्रताको नीति

प्रजातन्त्र र कुटनीतिको खेल

मलाई खोसेरै भए पनि खेल्न मन लागेको छ ,

सत्व , तिम्रा खुसीहरु खोस्न मन लागेको छ ।

मेरा खोसिएका स्वतन्त्रताहरू

फिर्ता लिन मन लागेको छ ।

स्वतन्त्रतामाथि रजाईं गर्न मन लागेको छ

तिम्रा हातले निर्माण गरेको

यो मानव सभ्यतामा

तिम्रा कपटी जालहरू फिँजिएको यस दुनियाँमा

जन्मको पहिलो सङ्केत दिँदा नदिँदै

ै तिम्रो संस्कारले मलाई अछुत घोषित गयो

निर्जीव देउतालाई दोष दिएर आफू चोखो हुन खोज्या

तर जति छोपछाप पारे पनि त्यो दोष

मेरा आँखाबाट बच्न सकेन

तिम्रो देउताको सृष्टिमा

जातको कुनै भेद थिएन ।

इतिहासलाई किन उल्टोबाट अथ्र्याउँछौ ?

सुल्टोबाट अध्र्याऊ ,

त्यहाँ बुद्धि र विवेकको

एउटा निश्चित बाँध बाँधिएको थियो ।

भेद पनि यही हो ।

विवेक र अविवेकले

कुरो पर्दाभित्र र बाहिरको हो

तर तिम्रो जाली बुद्धिले

त्यसलाई उल्टोसँग अर्थ्याउनु उचित ठान्यो ।

किनकि , तिमी एकतन्त्रीय शासन चाहन्थ्यौ ,

आफ्नो स्वार्थको सत्ता चाहन्थ्यौ ।

मानव सभ्यताको ऐनाबाट

तिम्रो शाश्वत प्रतिबिम्ब छिपेको छैन

यो यथार्थ हो ।

जति उजिल्याएर चमक दिन खोजे पनि

स्वरूप पुरानै हुन्छ ,

नवीन आकृति दिए पनि

सोचाईको धरातल

पुरानै जगमा निर्मित हुन्छ

तिम्रो उही अनुहार देख्नेछ ।

साँच्चो सभ्यताको इतिहास लेख्नेले

तिमीलाई उही देख्नेछ ।

साक्षात् इतिहासले

भो , अब फोहोरी नाटक नरच

यो साँच्चो मानव  मूल्यको सभ्यताले

जनताको हातले निर्मित दुनियाँले

एउटा नयाँ आवाज खोजेको छ

एउटा नयाँ परिभाषाको

प्रजातन्त्र र स्वतन्त्रता खोजेको छ ।

अनि , म स्वतन्त्रताविहीन मान्छे

स्वाधीनता हरिएको मान्छे

यही सभ्यतामा एउटा स्वतन्त्रता खोजिरहेछु

एउटा स्वाधीनताको भाग खोजिरहेछु ।

म कल्पनाभन्दा धेरै माथिको कुरा गर्दैछु

तिमीले दिएको सीमारेखालाई नाघेर

म समानताको कुरा गर्दैछु ।

यी मेरा कदमहरू

तिमीलाई स्वीकार्य होस् या नहोस्

मानव मूल्यको कुरा गर्दैछु

साँच्चो अर्थमा मानव हुनुको मूल्य खोज्दैछु ।

रूढहरूले वर्षाैंदेखि रूढीवादको जरा गाडेको भूमिमा

एउटा अस्तित्व खोजिरहेछु

एउटा आफ्नैपन खोजिरहेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *