दैलेखको गुराँस गाउँपालिकाले अझैं पठाएन वित्तीय विवरण, महालेखाको ताकेता
मातृभूमी संवाददाता । १४ पौष दैलेख
दैलेखको गुराँस गाउँपालिका अझैसम्म गत आर्थिक वर्षको वित्तीय विवरण नपठाएको महालेखाले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार स्थानीय सरकारहरुले असोज मसान्तभित्र अघिल्लो आर्थिक वर्षको एकिकृत वित्तीय विवरण सम्बन्धित लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्छ । तर, पठाउनु पर्ने अवधि घर्किएको तीन महिनासम्म पनि दैलेखको गुराँस गाउँपालिकाले नपठाएको महालेखाले जनाएको छ ।
दैलेखको गुराँस गाउँपालिका लगाएत हुम्लाका अदानचुली, खार्पुनाथ, चंखेली, ताजाकोट, नाम्खा र सिमकोट गाउँपालिकाले विवरण अझैं वुझाएका छैनन् । यस्तै मुगुको सोरु गाउँपालिकाले समेत विवरण बुझाउन बाँकी छ । स्थानीय तहले वित्तीय प्रतिवेदन नबुझाएपछि महालेखा नियन्त्रक कार्यालयले अविलम्ब विवरण पठाउन ताकेता गरेको छ ।
महालेखाले १५ पुसभित्र आफ्नो प्रतिवेदन तयार पारिसक्नु पर्ने भएकाले सोही प्रयोजनका लागि ४२ स्थानीय तहको नाम सार्वजनिक गर्दै महालेखाले हिसाब पठाउन भनेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार मंगलबार अपरान्ह ४ बजेसम्म ७ सय ११ स्थानीय तहले हिसाब भिडान गरेका छन् । महालेखाले संघ, प्रदेश र स्थानीय तहको आर्थिक विवरण समेटेर एकिकृत आर्थिक विवरण बनाउने गर्दछ ।