दुल्लु नगरपालिकामा कर्मचारीको हाजिर च्यातेर गायव
मातृभूमी संवाददाता । १४ पौष दैलेख
दैलेखको दुल्लु नगरपालिकामा कर्मचारीको हाजिर च्यातेर गायव पारिएको छ । आन्तरिक लेखापरिक्षक मदन वहादुर वुढाको हाजिर च्यातेर गायव पारिएको हो । आलेप वुढा हुम्लाको एक स्थानीय तहबाट सरुवा भएर दैलेखको भगवतीमाई गाँउपालिका आएका थिए । भगवतीमाई गाउँपालिकाले एउटै तहका २ जना कर्मचारी राख्न नसक्ने जनाएपछि उनी दुल्लु नगरपालिकामा खालि रहेको पदमा सरुवा र रमाना पत्र लिएर हाजिर भएका थिए ।
यहि पौष ७ गते वुढाले दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही समक्ष रमाना र सरुवापत्र बुझाएपछि प्रमुख प्रशासकीय अधिकृत शाहीले हाजिर हुन अनुमति दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत शाहीको अनुमतिपछि वुढाले यहि पौष ७ र ८ गते २ दिन हाजिर गरे पनि ९ गते हाजिर हुन जाँदा हाजिरको लिष्टबाट पाना नै च्यातेर गायव गरी हाजिर गर्न नदिएको उनले वताए । आलेप वुढाले भने, ‘हाजिरीको पाना नं. ५२ र ५५ च्यातिएको छ । हाजिरभित्रका उक्त पानाहरु भेटिएका छैनन् ।’
अहिले हाजिर च्यातिएको विषयलाई लिएर नगरपालिकामा विवाद भएको छ । हाजिर गर्ने सामान्य प्रशासन शाखाका प्रमुख शमशेरबहादुर शाहीले हाजिर च्यातिएको विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । पिडित बुढाले आफुलाई शमसेर बहादुर शाहीले हाजिर गर्न नदिएको आरोप लगाएका छन् । नगरपालिकामा ई हाजिर जडानमात्र गरिएको र सञ्चालनमा नआएको जनाईएको छ ।
दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले हाजिर च्यातिएको विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै यस विषयमा छानबिन गरिने बताए । हाजिर गर्ने सामान्य प्रसासन शाखाका प्रमुख शमसेरबहादुर शाहीले मदन बुढा भन्ने कर्मचारीले हाजिर गरे नगरेको कुनै जानकारी नभएको र नगरप्रमुख घनश्याम भण्डारीले कर्मचारी फिर्ता पठाएको वोधार्थ दिईएकाले पत्र पठाएपछि हाजिर हुन नदिने भन्दैै हाजिर सुरक्षित राखिएको वताएका छन् ।
पिडित बुढाले नियमपुर्वक नगरपालिकामा हाजिर भएको र पछि आफुलाई नियतपुर्वक दबाउन खोजेको वताएका छन् । उनले हाजिर च्यातेर लुकाएको भन्दै आफुले न्याय पाउनुपर्ने वताएका छन् ।
दुल्लु नगरपालिकामा हाजिर च्यातिएको विषयमा आफु समक्ष निवेदन आएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले आफुकहाँ हाजिर गर्न नदिईएको र हाजिर च्यातिएको विषयमा निवेदन आएको भन्दै सामान्य प्रशासन मन्त्रालय र नगरपालिकासँग समन्वय गरी निष्पक्ष छानविन गरिने वताएका छन् । प्रमुख जिल्ला अधिकारी प्याकुरेरले भने, ‘यदि हाजिर च्यातिएको प्रमाणीत भएमा हाजिर च्यात्ने व्यक्तिलाई नियमानुसार कारवाही हुन्छ ।’