दैलेखमा प्रहरी सुरक्षा कमजोर, हप्ता दिनमै चार वटा पसलमा चोरी
मातृभूमी संवाददाता । १५ पौष दैलेख
दैलेखमा शान्ति सुरक्षा कमजोर देखिएको छ । कमजोर शान्ति सुरक्षाका कारण हप्ता दिनमै चार वटा पसलमा चोरी भएको छ । हप्ता दिनमै सदरमुकामका चार वटा पसलमा चोरी भएपछि शान्ति सुरक्षा कमजोर रहेको स्थानीयले वताएका छन् । जिल्लाका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साहले कार्यभार सम्हालेको डेढ महिना नपुग्दै जिल्लामा चार वटा चोरीका घटना भएको स्थानीयले वताएका हुन् ।
जिल्ला सदरमुकामको नयाँ वजार स्थीत हाई स्कुल नजिक हप्ता दिन भित्र चार वटा पसलमा चोरीका घटना भएका छन् । चोरले साना घुम्टी पसलहरुलाई तार्गेट गरेर चोरी गर्ने गरेका छन् । केहि दिन अघि एउटा घुम्टी फोडेर चोरी गरीएको थियो भने वुधवार राति एकै पटक तिन वटा घुम्टी पसलहरुमा चोरी भएको छ ।
एकै रात तिन वटा पसलमा चोरी हुँदा दैलेख प्रहरीको सुरक्षामा औंला उठ्न थालेका छन् । एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘पहिला जिल्लामा रातभर गस्ती हुन्थ्यो । सदरमुकामका विभिन्न ठाउँमा मापसे चेकजाँच हुन्थ्यो । अहिले नत गस्ती भएको थाहा छ । नत मापसे चेकजाँच भएको नै । हुन त चिसो गर्दा पनि हो की ?’
शान्ति सुरक्षा कमजोर हुँदा अपराध गर्नेहरुको मनोवल वढेको हुन सक्ने स्थानीय वुद्धिजीवीको भनाई छ । केहि दिन अगाडी नयाँ वजार हुलाक अगाडीको घुम्टीमा चोरी भयो प्रहरीले खासै चासो देखाएको पाईएन । एक स्थानीयले भने, ‘फेरी वुधवार राती एकै दिन तिन वटा पसलमा चोरी भयो । चोरले साना घुम्टी पसलहरुलाई तार्गेट गरेर चोरी रहेका छन् ।’
विगतका दिनहरुमा दैलेखको ठालुडाँडादेखी काँडाचौर सम्म प्रहरीका विभिन्न टोलीहरु गस्ती गरिरहेका हुन्थे । सदरमुकामका लोकतान्त्रिक चोक, देवकोटा चोक, एनएमवी वैंक अगाडी र हाई स्कुल अगाडी लगाएतका ठाउँमा मापसे चेकजाँच हुन्थ्यो । अपराधिक मनोवृति भएका व्यक्तिहरुमा डर हुन्थ्यो । तर अहिले त्यस्तो नभएको स्थानीयहरुको भनाई छ ।
दिनहुँ चोरीका घटना वढ्नुमा दैलेख प्रहरीको सक्रिय कम भएको स्थानीय व्यापारीहरुको भनाई छ । नयाँ डिएसपीसाव आएपछि प्रहरीको सक्रियता कम देखिएको उनीहरुले वताउँदै आएका छन् ।