दैलेख सदरमुकाममा चोरी गर्दै गरेका २ जना रंगेहात पक्राउ
मातृभूमी संवाददाता । १७ पौष दैलेख
दैलेख सदरमुकाममा चोरी गर्ने २ जनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ । यहि पौष १४ गते राति करिब साढे १ बजेको समयमा सदरमुकामको त्रिभुवन माध्यामिक विद्यालय नजिकैको पाण्डे फेन्सी पसल, टोपेन्द्र मोवाईल मर्मत सेन्टर र बशिष्ट भट्टराई पुजा सामाग्री खुद्रा तथा तरकारी पसलवाट चोरी गर्ने २ जनालाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।
सदरमुकाममा रहेको पाण्डे फेन्सी पसलवाट जिन्स पाईन्ट, सर्ट, ट्राउजर, जुत्ता चप्पल लगायतका ३१ थान सामान, टोपेन्द्र मोवाईल मर्मत सेन्टरबाट मोवाईल, चार्जर, डाटा केवल, स्पिकर र बशिष्ट भट्टराई पुजा सामाग्री खुद्रा तथा तरकारी पसलवाट नगद २ हजार ६ सय ५६ खुद्रा रुपैयाँ चोरी गरी भाग्दै गरेको अवस्थामा दैलेख प्रहरीले पक्राउ गरेको हो ।
दैलेख प्रहरीको गस्ती टोलिले परिवर्तित नाम ६२ ख ४४ र ६२ क ४९ लाई चोरी गरेको सामान सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले ढोकाको ताला फोडी चोरी गरेको भनि स्विकार गरेको र ताला फुटाउन प्रयोग गरिएका पेचकस र पाना समेत साथबाट बरामद गरेको जनाईएको छ ।
पक्राउ परेका उनीहरुलाई दैलेख प्रहरीले शुक्रवार दैलेख जिल्ला अदालतबाट चोरी मुद्धामा ५ दिनको म्याद थप गरेर दैलेख प्रहरी कार्यालयको बालनिगरानी कक्षमा राखी अनुसन्धान गरिरहेको दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।