दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, आठजना घाइते

मातृभूमी संवाददाता । २१ पाैष दैलेख

दैलेखको लोहोरेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप लोहोरे खोला नजिकैको मोडमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा परी भगवतीमाई गाउँपालिका ६ कट्टीको चिपिन घर भएका जीप मालिक २९ बर्षीय कृष्ण रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।
भगवतीमाई गाउँपालिका ६ कट्टी चिपिनका चालक २५ वर्षीय दीपक केसी फरार रहेको डीएसपी साहले जानकारी दिए ।
दुर्घटनामा घाइते भएको आठ जना मध्ये ६ जनालाई थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको र पाँच जना समान्य उपचारपछि घर फर्किएको दैलेख प्रहरीले जनाएको छ ।
दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि भगवतीमाई  गाउँपालिका ६ की २४ वर्षीया वडा सचिव अबिसरा रोकाय, सोही ठाउँका ३२ वर्षीय कृष्णबहादुर बुढा र २६ वर्षीया गीता शर्माको अवस्था गम्भीर रहेको दैलेख प्रहरीले जनाएको छ । जीपमा चालक सहित १२ जना सवार रहेको जनाइएको छ ।
कम चोट लागेको तर कर्णाली प्रदेश अस्पताल पु¥याइएका गीता शर्माकी छोरी ९ महिनाकी करिष्मा शर्मा, २४ वर्षीया मीना अधिकारी र २ वर्षकी रोजिना रोकायको सुर्खेतमै उपचार चलिरहेको प्रदेश अस्पतालका डा. निर्मल रसाइलीले बताए ।
मोडमा चालकले नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *