५० वर्षपछि ‘सुन्दरी तोप’ दैलेख ल्याईयो, ‘अर्गा तोप’ अझैं गुमनाम

मातृभूमी संवाददाता । २१ पौष दैलेख
सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५० वर्षपछि वुधवार दैलेख ल्याईएको छ । नेपाली सेनाको पश्चिम कमान्डले ‘सुन्दरी तोप’ दैलेख पठाएपछि वुधवार दैलेख ल्याईएको हो । वि.स. २०२८ सालमा भोकमरी पर्दा भोकमरी धान्न नसक्दा तत्कालिन समयमा जिल्ला स्थित नेपाली सेनाको ज्वाला दल गण दैलेखबाट सुर्खेत सार्दा गणसँगै सुन्दरी र अर्गा तोप पनि सुर्खेत लगिएको थियो । सुर्खेत लगिएको ‘सुन्दरी र अर्गा तोप’ मध्ये वुधवार सुन्दरी तोप दैलेख ल्याईएको छ भने अर्गा अझै गुमनाम रहेको छ ।
संघीयतापछि राजनीतिक दल, नागरिक समाज लगाएत जिल्लाबासीले दैलेखसँग जोडिएको ऐतिहासिक तोपहरु फिर्ता हुनुपर्ने माग राखेपछि स्थानीय सरकारले खोजी सुरु गरेको नारायण नगरपालिका १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ वताए । वडाध्यक्ष श्रेष्ठले भने, ‘हामीले नेपाली सेनासँग समन्वय गरेर तोपहरु खोज्ने क्रममा सुर्खेतस्थित राजदल गणमा सुन्दरी तोप फेला पर्‍यो ।’ ५० बर्षपछि ‘सुन्दरी तोप’ दैलेखमा बाजाघाजा सहित पुर्नःस्थापना गरिएको हो । दैलेखको काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले जंगी अड्डाले सुर्खेत राजदल गणमा राखिएको सुन्दरी तोप दैलेख पुर्नःस्थापना गर्न स्वीकृत दिएपछि तोप दैलेख ल्याईएको बताए । उनका अनुसार सुन्दरी नामक तोप र ८१ थान गोला दैलेख ल्याईएको छ ।
उक्त तोप अहिले नेपाली सेनाको इन्द्रदल गुल्म काँडाचौरमा राखिएको छ । कोतगढीमा मर्मत तथा जीणर्ोद्धारको काम सकिएपछि तोपलाई कोतगढीमा राखिने इन्द्रदल गुल्मका गुल्मपति सेनानी लामाले वताए । कोतगढी नेपाली सेनाको स्वामित्व छ । ऐतिहासिक कोतगढीमा तोप गोला राख्न आवश्यक पूर्वाधार निर्माण भइरहेको नारायण नगरपालिकाले जनाएको छ ।
दुई वटा तोपहरु ‘सुन्दरी र अर्गा’ मध्ये ‘अर्गा तोप’ अझै गुमनाम जस्तै छ । ‘अर्गा तोप’ कहाँ छ भन्नेबारे अझै एकिन हुन नसकेको वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । ‘अर्गा तोप’ तामाबाट बनेको छ । ‘हामीले नेपाली सेनासँगको समन्वयमा ‘सुन्दरी तोप’ दैलेख फिर्ता ल्याउन सफल भएका छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने ‘अर्गा तोप र भगवतीको मुर्ती’को पनि खोजी गरिरहेका छौँ ।’
तोप पुर्नःस्थापनाले दैलेखको पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने पत्रकार भुपेन्द्र शाहीको भनाई छ । ‘तोप जिल्लाको लागि अमूल्य सम्पत्ति हो, अहिले एउटा तोप ल्याईएको छ, त्यसलाई अलपत्र पारिनु हुँदैन्, सुरक्षित राख्नुपर्छ,’ उनले भने ‘अर्गा तोपको खोजी गरेर दैलेख ल्याउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!